कोरोना संक्रमितको पीडाः अस्पतालले पैसा लिएर पनि रेखदेख गरेनन् (भिडियोसहित)
१४ मंसिर, २०७७, मोरङ । मोरङका निजी अस्पतालले कोरोना संक्रमितको उपचारमा मनोमानी शुल्क लिएको पाइएको छ । संक्रमितसँग दिनकै ५ हजारदेखि ५० हजार रुपैयाँसम्म उपचार शुल्क लिने गरेपनि अस्पतालले संक्रमितको उचित रेखदेख नगरेको गुनासो पनि छ ।
सुनसरी इनरुवाका त्रिलोकचन्द्र गुप्ताले नोबेल मेडिकल कलेजले राम्रो हेरचाह नगरेको भन्दै कोरोना संक्रमित बुबालाई घर फर्काउनुभयो । अस्पतालले मागेको शुल्क तिरेर पनि उपचार नपाएको उहाँको गुनासो छ ।
गुप्ता मात्र हैन मोरङका हरेक निजी अस्पतालमा पुग्ने संक्रमित र आफन्तको यस्तै गुनासो छ । निजी अस्पतालले पछिल्ला दिनमा कोरोना संक्रमण उपचारको मनपरी शुल्क लिएको र राम्रो उपचार नगरेको गुनासो बढेपछि प्रदेश एक सरकारले मोरङका निजी अस्पतालको अनुगमन पनि गरेको छ ।
अनुगमन टोलीसँग अस्पताल सञ्चालकले उपचारमा खटिएका स्वास्थ्यकर्मीको पारिश्रमिक लगायत अन्य खर्चका कारण महँगो पर्न गएको बताएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीसहितको टोलीले मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पताल, नोवेल मेडिकल कलेज र न्यूरो अस्पतालको कोभिड उपचार केन्द्रको अनुगमन गर्यो । र अनुगमनपछि मुख्यमन्त्री शेरधन राईले अस्पतालहरु नसच्चिए कारवाही गर्ने चेतावनी दिनुभयो ।
सरकारले एकातिर निःशुल्क उपचारको कुरा गरिरहेको छ, अर्कोतिर पैसा तिर्दा पनि अस्पतालबाट बिरामीले उचित उपचार पाउन सकेका छैनन् । मुख्यमन्त्री राईले कारवाही गर्ने चेतावनी त दिनुभएको छ, तर त्यो बोलीमै सीमित हुन्छ कि बिरामीले उपचार पाउने गरी अस्पतालहरुको व्यवहार देखिन्छ, त्यो हेर्न धेरै दिन कुर्नपर्ने छैन ।
प्रतिक्रिया