Main News

एक वर्षदेखि रोकिएको चिनियाँ सैन्य सहयोग पुनः शुरु हुने

हिमालय टिभी
२०७७ मंसिर १४ गते १९:०१
एक वर्षदेखि रोकिएको चिनियाँ सैन्य सहयोग पुनः शुरु हुने

१४ मंसिर, २०७७ काठमाडौं । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच कोभिड–१९ का कारण झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थी आदान–प्रदान कार्य फेरि शुरु हुने भएको छ ।

नेपाल भ्रमणका क्रममा चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ हे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आज दिउँसो सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटवार्तामा दुई मुलुक बीचमा कोभिड–१९ का कारण रोकिएका सहयोग, सहकार्य र अभ्यासलाई फेरि शुरु गर्ने सहमति भएको हो ।

योसँगै नेपाल र चिनियाँ सेनाबीच रोकिएको तेस्रो सगरमाथा मैत्री संयुक्त सैन्य अभ्यास पनि हुने पक्का भएको छ । तर अहिले मिति भने तय गरिएको छैन ।

नेपाली सेनाद्वारा जारी विज्ञप्ति अनुसार विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगति बारेमा पनि छलफल भएको छ। भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो ।

यसैबीच रक्षामन्त्री वेईले नेपाली सेनाको कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागिसमेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामग्रीहरु भेन्टिलेटर, मुभ एवल मेडिकल अस्पताल तथा अन्य संक्रमणलाई नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने प्रतिबद्धता चीनले जनाएको छ ।

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आएका रक्षामन्त्री वेई जंगीअड्डामा आयोजना गरिएको विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।

जंगीअड्डामा उहाँको सम्मानमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।छोटो भ्रमणमा नेपाल आएका चिनीयाँ रक्षामन्त्री वेई फेङ हे आज व्यस्त रहनुभयो ।

आउने बित्तिकै प्रधानसेनापति पूर्णचन्द थापासँग भेटवार्ता गरेका वेईले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटार र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा शिष्टाचार भेटवार्ता गर्नुभयो । भेटपछि चिनियाँ रक्षामन्त्री आजै बंगलादेशतर्फ लाग्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *