Main News

चिनियाँ रक्षामन्त्री वेई फेङ्वे आज काठमाडौं आउँदै

हिमालय टिभी
२०७७ मंसिर १४ गते ७:२६
चिनियाँ रक्षामन्त्री वेई फेङ्वे आज काठमाडौं आउँदै

१४ मंसिर, २०७७ काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षा मन्त्री वेई फेङ्वे एक दिने भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ ।

छिमेकी भारतका विदेशसचिव हर्षबर्धन शृंगला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिम ण्डलसहित बिहान १० बजे काठमाडौं आइपुग्नु हुनेछ ।

रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा उहाँसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नुहुनेछ । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री ओली र शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

भेटवार्तामा नेपालले कोभिड– १९ का कारण प्रभावित भएको तालिम र विद्यार्थी आदानप्रदान शुरु गर्ने प्रस्ताव राख्नेछ । त्यस्तै, तीन वर्षअघि थालिएको नेपाली सेना र चिनियाँ सेनाको ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’का लागि ढाँचा तयार गरेर शुरु गर्ने प्रस्ताव पनि नेपालले राख्ने तयारी गरेको छ ।

काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास जानुहुनेछ । त्यहाँ दिवाभोज गरेपछि उहाँ औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नुहुनेछ । उहाँ आजै काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम छ ।

परराष्ट्रले शनिबार बिहान मात्रै चिनियाँ मन्त्री वेईको नेपाल भ्रमणसम्बन्धी जानकारी सार्वजनिक गरेको हो । रक्षामन्त्री वेई कोभिड– १९ को महामारीपछि चीनबाट नेपाल भ्रमणमा आउने सबैभन्दा उच्च अधिकारी हुनुहुन्छ।

उपप्रधानमन्त्री एवं तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले ०७५ कात्तिकमा चीनको औपचारिक भ्रमणका क्रममा वेईसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । त्यहीबेला उहाँलाइ नेपाल भ्रमणको निम्तो दिइएको थियो ।

प्रधानसेनापति थापाले पनि चीन भ्रमणका बेला रक्षामन्त्री वेईसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो स्मरण गराउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *