काेराेनाबाट हुने मृत्युदर विश्वकाे तुलनामा नेपालमा किन कम ? (भिडियोसहित)
११ मंसिर, २०७७ काठमाडौं ।नेपालमा कोरोना संक्रमण फैलिएको नौं महिनाको अवधिमा १४ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढे पनि तुलनात्मक रुपमा नेपालमा मृत्युदर कम छ ।
कोरोनाले जेष्ठ नागरिकलाई बढी असर गरेको छ । नेपालमा पनि मृतकमध्ये धेरै जेष्ठ नागरिक छन् । विश्वको तुलनामा नेपालमा मृत्युदर कम हुनुलाई राम्रो संकेत मानिएको छ ।
बाँकेको करमोहना गाउँपालिकाका ८८ वर्षीय विन्दाप्रसाद कुर्मीलाई केही महिना अघि कोरोना संक्रमण भएको थियो । तर १४ दिनको आइसोलेसन बसाईपछि उहाँ निको हुनुभयो ।
उहाँजस्तै धेरै जेष्ठ नागरिक अहिले कोरोना लागेर निको भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख भन्दा बढी नागरिक संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किसकेका छन् । आइसीयू र भेन्टिलेटरमा पुगेकाहरु पनि स्वस्थ भएर फर्किएका छन् । जोखिम समूहमा रहेका भनिएकालाई पनि भेन्टिलेटर र आइसीयूबाट निको बनाएर पठाएको ग्रान्डी अस्पतालका डाक्टर अजयसिंह थापा सुनाउनुहुन्छ ।
नेपालमा अहिलेसम्म कुल संक्रमितको शुन्य दशमलव ६ प्रतिशतको मात्रै ज्यान गएको छ । विश्वमा मृत्युदर ३ प्रतिशतको हाराहारीमा छ । दक्षिण एसियाका छिमेकी मुलुकमा पनि २ प्रतिशत भन्दा बढीको मृत्यु भएको छ ।
विश्वको तुलनामा नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर निकै कम छ । त्यसैले सचेत बन्नुपर्ने तर धेरै आत्तिनु पर्ने अवस्था नरहेको विज्ञ बताउँछन् ।
नेपालमा अन्यत्र भन्दा कम मृत्युदर हुनुमा विभिन्न फ्याक्टरले काम गरेको छ । त्यसमध्ये युवाको जनसंख्या बढी हुनु पनि एउटा कारण मानिएको छ । सरकारी अधिकारीको आंकलन यस्तो छ ।
विश्वमा अहिलेसम्म करिव ६ करोडमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक अमेरिका र युरोपेली मुलुकमा मृत्युदर उच्च देखिएको छ । त्यसको तुलनामा नेपालमा मृत्युदर निकै कम हुनु पक्कै पनि खुसीको कुरा हो ।
अनिवार्य रुपमा मास्क लगाउने, दुरी कायम गर्ने, भिडभाडमा नजाने लगायतका सावधानी सबै उमेर समुहका व्यक्तिले अपनाउने हो भने कोरोनाबाट हुने मृत्यु अझै घटाउन सकिनेछ ।
प्रतिक्रिया