नेपाल आउने विदेशीलाई भिसा केही खुकुलो बनाउने तयारी

१० मंसिर, २०७७ काठमाडौं । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसासम्बन्धी व्यवस्था केही खुकुलो बनाउने भएको छ ।
भिसा प्रकृयामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसा खुकुलो बनाउन लागेको हो ।
विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न यसले सहयोग पुग्ने गृहमन्त्री थापाको विश्वास छ ।
अध्यागमन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलमा छ । नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ ।
विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धि काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया