Main News

‘नेपालमा भ्रष्टाचार बढ्नुमा सरकार नै मुख्य जिम्मेवार’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १० गते ६:२७
‘नेपालमा भ्रष्टाचार बढ्नुमा सरकार नै मुख्य जिम्मेवार’ (भिडियोसहित)

१० मंसिर, २०७७ काठमाडौं । भ्रष्टाचारविरुद्ध काम गर्दै आएको विश्वव्यापी संस्थाले गरेको पछिल्लो सर्वेक्षणले नेपालमा भ्रष्टाचार बढेको देखाएको छ । पछिल्लो १२ महिनामा सार्वजनिक सेवा लिएकाहरुमाथि गरिएको सर्वेक्षणमा सहभागीमध्ये बहुमत नेपालीले भ्रष्टाचार बढेको बताएको ट्रान्सफरेन्सी इन्टरनेशनलले जनाएको हो । लगभग सबैजसो नेपालीले सरकारकै कारण भ्रष्टाचार बढेको महशुस गर्ने गरेको समेत सर्वेक्षणमा पाइएको छ ।

ट्रान्सफरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको ग्लोबल करप्सन ब्यारोमिटर जीसीबी एसिया सर्वेक्षणले नेपालमा भ्रष्टाचार बढेको र यसबाट जनता आजित बनेको देखाएको हो ।

पछिल्लो १२ महिनामा भएका सरकारी गतिविधि र सार्वजनिक सेवा लिनेको अनुभवका आधारमा सर्वेक्षणमा सहभागी धेरै नेपालीले भ्रष्टाचार बढेको बताएका हुन् । सर्वेक्षणमा सहभागीमध्ये ५८ प्रतिशतले पहिलेको दाँजोमा भ्रष्टाचार बढेको अनुभव साटेका छन् । २३ प्रतिशत सहभागीले भने भ्रष्टाचार पुरानै अवस्था रहेको मत दिएका छन् ।

यद्यपि १८ प्रतिशतले भ्रष्टाचार घटेको बताएका छन् । सर्वेक्षणमा सहभागी ८४ प्रतिशत जनताले भ्रष्टाचार बढ्नुका पछि सरकार स्वंय कारण रहेको बताएका छन । १२ प्रतिशतले सार्वजनिक सेवा लिँदा घुस दिएको र २९ प्रतिशतले ब्यक्तिगत पहुँचको प्रयोग गरेर काम गराएको देखिएको हो ।

प्रतिवेदनले नेपालमा मत खरीद हुने गरेको समेत देखाएको छ। १३ प्रतिशतलले मतको सट्टा घुसको प्रस्ताव गरिएको बताएका छन् । र, ७ प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुर्व्यवहारमा परेको वा अन्य कोही परेको जानकारी पाएको बताएका छन् । सहभागीले सबैभन्दा बढी भ्रष्टाचार प्रधानमन्त्री र राष्ट्रपति कार्यालयमा हुने गरेको दावी गरेका छन ।

सर्वेक्षणमा सहभागी आधा नेपालीले प्रधानमन्त्री र राष्ट्रपति तथा उनीहरुको कार्यालयका कर्मचारी भ्रष्टाचारमा संलग्न रहेको मानेका छन । त्यसपछि ४३ प्रतिशतले सांसद भ्रष्ट ठानेका छन् । ४३ प्रतिशत सरकारी कर्मचारी भ्रष्ट रहेको मान्छन् भने सबैभन्दा कम अर्थात १३ प्रतिशतले बैंकिङ संस्थामा भ्रष्टाचारको कुरा गरेका छन् ।

त्यस्तै, २८ प्रतिशतले अधिकांश प्रहरी भ्रष्ट रहेको र २४ प्रतिशतले अधिकांश न्यायाधीश भ्रष्टचारमा संलग्न रहेको मत दिएका छन । १७ देशका २० हजार एशियाली नागरिक सहभागी सर्वेक्षणमा नेपालबाट कति जना सहभागी थिए भन्नेबारे ट्रान्सपरेन्सीले खुलाएको छैन् ।

यद्यपि प्रतिवेदनले एसियाका १७ देश मध्ये नेपाली नै नेपालमा सबैभन्दा धेरै भ्रष्टाचार बढेको महशुस गरेको देखाएको छ । नेपालका ५८ प्रतिशतले भ्रष्टचार बढेको बताउँदा सबैभन्दा कम कम्बोडियामा १२ प्रतिशतले भ्रष्टाचार बढेको बताएका छन् । पछिल्लो १२ महिनामा १६ देशमा ‍औशतमा ३८ प्रतिशतले भ्रष्टाचार बढ्दा ३२ प्रतिशतले घटेको बताएका छन् भने २८ प्रतिशतले उस्तै रहेको ठानेका छन् ।

एसियामा पाँच मध्ये १ जनाले आधारभुत स्वास्थ्य सेवा लिन घुस दिन बाध्य रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले एशियाली देशहरुमा सरकारप्रति नागरिक विश्वासमा कमी आएको समेत देखाएको छ । यद्यपि सहभा‍गीमध्ये ६८ प्रतिशतले नागरिकले भ्रष्टाचार विरुद्धको लडाईमा नागरिक स्वंयले फरक पार्न सक्ने विश्वास राख्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *