Main News

होप इन्टरनेशनल म्यानपावरमा विभागको छापा, कतारका लागि अन्तर्वार्ता लिँदै गरेको फेला

हिमालय टिभी
२०७७ मंसिर ९ गते १४:५५
होप इन्टरनेशनल म्यानपावरमा विभागको छापा, कतारका लागि अन्तर्वार्ता लिँदै गरेको फेला

९ मंसिर, २०७७ काठमाडौं । वैदेशिक रोजगार विभागले लैनचौरस्थित होप इन्टरनेसनल म्यानपावरमा छापा मारेको छ ।

पूर्व श्रमस्वीकृति नलिएरै कतार पुलिसका लागि अन्तर्वार्ता लिइरहेको सूचनाका आधारमा विभागको टोलीले म्यानपावरमा आज छापा मारेको हो ।

टोलीले म्यानपावरका केही कागजात नियन्त्रणमा लिएको छ । अन्तर्वार्ता लिनमा नेपालस्थित कतार दूतावासको पनि संग्लनता रहेको खुलेको छ ।

म्यानपावरमाथि थप अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी टीकामणि नेउपानेले जानकारी दिनुभयो । छापा मार्ने क्रममा नेपालस्थित विदेशी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै फेला परेको छ ।

सोमबार पनि विभागको टोलीले एकै दिन दुई ठूला म्यानपावर कम्पनीमा छापा मारेको थियो । सोमबार विभागले धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रालिमा छापा मारेको थियो ।

नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्व श्रमस्वीकृति लिनुपर्छ । र, अन्तरवार्ताको मिति विभागमा जानकारी गराउनुपर्छ ।

अन्तरवार्ताबाट छनोट भएका कामदारको अन्तिम श्रम स्वीकृति विभागबाट जारी हुन्छ । तर, अहिले काठमाडौंमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्वस्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तरवार्ता चलाइरहेका पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *