मोरङबाट विप्लव समूहका सेक्सन कमाण्डर हतियारसहित पक्राउ

७ मंसिर, २०७७, विराटनगर । मोरङ प्रहरीले एकथान पेस्तोलसहित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ ।
मोरङ उलाबारी नगरपालिका–६ रमाइलो टोलस्थित एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरबाट विप्लव समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पांलाई आइतबार बिहान पक्राउ गरेको हो ।
विप्लव समूहका मानिसहरु अवैध हातहतियारहरु साथमा लिई लुकीछिपी बसिरहेका भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विश्वकर्माको घर खानतलासी गर्दा ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका– २ का ३२ वर्षीय शेर्पालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।
प्रहरीले घरखानतलासी गर्ने क्रममा कालो झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा तीनवटा गोली लोड भएको अवस्थामा पेस्तोल, म्यागजिन एक थानसमेत बरामद गरेको छ ।
त्यसैगरी शेर्पाको सक्कल नागरिकताको प्रमाण पत्र, मतदाता परिचय पत्र, मोवाइल सेट त्यसमा लाग्ने सिमहरु, नेपाल कम्युनिष्ट पार्टीको सहयोग रसिद, आवश्यक दस्तावेज समेत बरामद गरेको प्रहरीले जनाएको छ । सेक्सन कमाण्डर शेर्पालाई हाहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया