Main News

नेपालमा कुल जनसंख्याको दुई प्रतिशतमा कोरोना संक्रमण हुन सक्ने सरकारको अनुमान

हिमालय टिभी
२०७७ मंसिर ६ गते १४:४०
नेपालमा कुल जनसंख्याको दुई प्रतिशतमा कोरोना संक्रमण हुन सक्ने सरकारको अनुमान

६ मंसिर, २०७७ काठमाडौं । सरकारले कुल जनसंख्याको २ प्रतिशतमा कोरोना भाइरसको संक्रमण हुनसक्ने अनुमान गरेको छ ।

कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदको भूमिका सम्बन्धमा आज काठमाडौंमा भएको अन्तरक्रियामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण हुनसक्ने अनुमान गरेको बताउनुभयो । उहाँले कुल जनसंख्याको २ प्रतिशतमा संक्रमण हुने अनुमान रहेको जानकारी दिनुभयो ।

मन्त्री ढकालले कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइए पनि संक्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको मात्र परीक्षण भइसकेको बताउनुभयो ।

मुलुकमा भएका स्वास्थ्य संरचनाको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालको दाबी छ । उहाँले अहिले पनि कुल सक्रिय संक्रमितहरुमध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताउनुभयो ।

विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरुलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रीत गरी काम गरिरहेको पनि मन्त्री ढकालले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रोकथामका लागि स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताउनुभएको हो ।

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने बताउनुभयो ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलोमै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *