Main News

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ पर्व

हिमालय टिभी
२०७७ मंसिर ६ गते ६:४५
उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ पर्व

६ मंसिर, २०७७ काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको विधिपूर्वक समापन गरिएको छ ।

तराई मधेसका साथै राजधानी उपत्यका र पहाडी जिल्लाहरुमा पनि मनाइएको छठ पर्वको आज अन्तिम दिन भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिएको हो । छठ पर्वको मुख्य दिन हिजो बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज अन्तिम दिन हो ।

विगत वर्षमा राजधानीको कमलपोखरी, नागपाखरी, गहनापोखरी, गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको हुन्थ्यो । यस्तै तराईका नदी र तलाउका किनारमा पनि झकिझकाउ पारिएको हुन्थ्यो ।

यस वर्ष भने कोरोना सङ्क्रमणका कारण राजधानीमा भौतिक दूरी कायम गरेर छठ मनाइएको छ । विगत वर्षमा रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने व्यवस्था गर्ने गरिएकामा यस वर्ष घरकै आँगनमा बसेर छठ मनाइएको छ ।

सूर्य षष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिए वर्षभर सूर्यको आर्शिवाद पाइने सूर्य पुराणलगायत पौराणिक एवं धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमको भनाइ छ ।

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *