पीसीआर रिपोर्टका कारण नेपाल एयरलाइन्सको उडान रोकिएपछि छानबिन समिति गठन

४ मंसिर, २०७७ काठमाडौं । केही यात्रुको पीसीआर रिपोर्टमा देखिएको समस्याका कारण नेपाल एयरलाइन्सको उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डाक्टर मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा डाक्टर अमृत पोखरेल र बलराम गौतम सदस्य हुनुहुन्छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार अब छानबिन समितिले हरेक प्रयोगशालामा गएर पीसीआर रिपोर्ट हेर्नेछ ।
काठमाडौंका केही अस्पताल र निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरी विदेश उडेका यात्रुमा उता फेरि जाँच्दा पोजेटिभ रिपोर्ट आएपछि सरकारले छानबिन गर्न लागेको हो।
यो समस्याले हङकङ, युएईसहित केही देशमा उडान रोकिएपछि नेपाल एयरलाइन्सले सरकारी प्रयोगशालामा परीक्षण गरेकालाई मात्र उडान अनुमति दिने भएको छ। हङकङले तीन पटक उडान रोकिसकेको छ । जापान र यूएईले पनि पटक पटक चेतावनी दिईसकेका छन ।
प्रतिक्रिया