राजनीति

नेकपामा अस्थायी युद्धविरामः प्रचण्डका आरोपको ओलीले जवाफ दिने, अर्को बैठक १३ गते

हिमालय टिभी
२०७७ मंसिर ३ गते २०:१३
नेकपामा अस्थायी युद्धविरामः प्रचण्डका आरोपको ओलीले जवाफ दिने, अर्को बैठक १३ गते

३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाभित्र केही दिनका लागि संघर्ष विराम भएको छ । सचिवालय बैठक बसेर सहमतिमै १० दिनका लागि स्थगित गरिएको छ । र, अब मंसिर १३ गते बस्ने बैठकमा प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्नुहुनेछ, जसमा प्रचण्डले आफूमाथि लगाएका आरोपको ओलीले जवाफ दिनुहुनेछ ।

आज बसेको बैठकमा ओली पक्ष आक्रामक देखिएको छ, किनकी उसले विरोधीलाई एकएक जवाफ दिने चेतावनीदेखि सामूहिक राजीनामा दिनेसम्मको प्रस्ताव गरेको छ ।

त्यस्तै नेकपाले मंसिर १८ गतेका लागि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक १० दिनपछि सारेर २५ गतेका लागि बोलाइएको छ । त्यसैले विवाद अब स्थायी कमिटी र केन्द्रीय कमिटीमा पुग्ने संकेत पनि देखिएको छ ।

बुधबारको बैठक प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत थियो, किनकी ओली र उहाँ निकट नेता बैठक बस्ने पक्षमा थिएनन्। कात्तिक २८ गते ओलीमाथि गम्भीर आरोप लगाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने ओली पक्षको अडान थियो । ओली पक्षले प्रस्ताव फिर्ता नगर्दासम्म बैठक बस्न सकिन्न समेत भनेको थियो ।

बैठक नबस्ने तयारीसहित प्रधानमन्त्रीसमेत रहेका ओलीले दिउँसो एक बजे सचिवालय बैठक बस्ने समयमै मन्त्रिपरिषद बैठक बोलाउनुभयो । तर प्रचण्ड–नेपाल समूहले प्रस्ताव फिर्ता लिन अस्वीकार गर्दै बैठक सार्न समेत मानेन । त्यसपछि ओली बैठक बस्न सहमत हुनुभयो र आक्रामक ढंगले पेश हुनुभयो । उहाँले प्रचण्डले आफूमाथि लगाएका आरोपको एक एक गरेर लिखित जवाफ दिने चेतावनी दिँदै काउण्टर राजनीतिक प्रस्ताव ल्याउने पनि बताउनुभयो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने जानकारी दिनुभयो ।

यसका लागि ओलीले १० दिनको समय मागेपछि त्यसैअनुसार सचिवालयको अर्को बैठक मंसिर १३ गतेका लागि बोलाइएको छ । पहिले प्रचण्डका आरोपको जवाफ नदिने अडानमा रहेका ओली त्यसबाट एक कदम पछि हटेर छुट्टै प्रतिवेदन ल्याउने अवस्थामा आईपुग्नुभएको छ । तर आफूमाथि लगाएका आरोपमा ओली निकै गम्भीर देखिनुभएको छ ।

जुन कुरा बुधवारको बैठकमा पनि उहाँले प्रष्ट संकेत गरेको एक सचिवालय सदस्यले जानकारी दिएका छन् । ओलीको भनाई उधृत गर्दै ती नेताले भने –ममाथि धेरै ठूला आरोप लगाइएको छ। म एकएक शब्दको प्रतिवाद गरेर लेख्छु ।’

ओलीले प्रचण्डको प्रस्तावलाई लाञ्छनायुक्त र गम्भीर आरोपै आरोपले भरिएको भन्दै सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

प्रचण्डको प्रस्तावमा ओलीमाथि संघीयता, गणतन्त्र र कम्युनिष्ट सिद्धान्त विरोधी भएको, भ्रष्टाचारीलाई संरक्षण गरेको, एमसीसीमा पार्टीलाई ढाँटेको व्यक्तिवाद लादेको, पार्टीकै नेताविरुद्ध षडयन्त्र गरेको आरोप लगाइएको छ । बैठकमा ओली मात्रै नभई ओली निकट नेताहरु पनि आक्रामक ढंगले पेश भएका छन् ।

उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल पनि बैठकमा आक्रामक ढंगले प्रस्तुत हुनुभएको छ । पोखरेलले बुँदाबुँदामा जवाफ दिने भन्दै प्रचण्डप्रति आक्रोश व्यक्त गर्नुभएको छ । फेसबुक मार्फत नै प्रचण्डको प्रस्तावको चर्को विरोध गरेका पोखरेलले समय क्रममा बुँदाबुँदामा प्रचण्डले जवाफ पाउने चेतावनी दिनुभएको छ । ओलीले मंसिर १३ गते सचिवालयमा राजनीतिक प्रस्ताव पेश गरेपछि बैठकमा यसअघि पेश गरिएका सहित सबै प्रस्तावमा छलफल हुनेछ ।

प्रचण्डको प्रस्तावको काउण्टर गर्न ओलीले दश दिनको समय लिनुभएको छ । र, यसमा ओलीले फेरि तानाबाना बुन्न सक्ने असन्तुष्ट पक्षको आशंका छ । यसको असर बैठकमा पनि देखिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले समय पछि धकेलेर नयाँ समस्या बल्झाउने काम नगर्न ओलीलाई सचेत गराउनुभएको छ । ओलीले ‘टाइम बाइ’ गर्ने रणनीति अख्तियार गरेको नेपालको टिप्पणी छ ।

ओलीले समय लिएर टार्न खोजेको आशंका गरेर प्रचण्ड–नेपाल पक्षले सचिवालय बैठकले मात्रै नहुने भन्दै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको माग गर्‍यो । र, त्यसै अनुसार स्थायी कमिटी मंसिर १८ र केन्द्रीय कमिटी मंसिर २५ गतेका लागि तोकियो । केन्द्रीय कमिटी बैठक पहिले तोकिएभन्दा १० दिन पर धकेलिएको छ ।

सरसर्ती हेर्दा बुधबारको बैठकमा दुवैका दाउ सफल भएका देखिन्छन, किनकी ओली समय लिन चाहनुहुन्थ्यो भने प्रचण्ड–नेपाल पक्ष प्रचण्डको प्रस्तावको जवाफ आओस र बैठक बसोस । ओलीले १० दिन समय लिनुभएको छ भने प्रचण्ड–नेपालको चाहना अनुसार बैठक पनि बसेको छ, तर यी सबै थप संघर्षका लागि अस्थायी विराम जस्तो लाग्छन । किनकी दुवै पक्षमा आ–आफ्ना दाउमा छन् । र , यो दाउपेच अब स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा प्रवेश गर्ने देखिएको छ, जहाँ फेरि अरु जोड घटाउ शुरु हुने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्