राजनीति

नेकपाको विवादमा राष्ट्रपतिको सक्रियताः आफ्नै पदको अपमान (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ३ गते २०:०६
नेकपाको विवादमा राष्ट्रपतिको सक्रियताः आफ्नै पदको अपमान (भिडियोसहित)

३ मंसिर, २०७७ काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद जति बढ्दै छ राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता उतिकै बढ्दो छ । संवैधानिक राष्ट्रपतिको यस्तो भूमिकाले राष्ट्रपतिको पदीय मर्यादा र गरिमामाथि नै गम्भीर प्रश्न उठाएको छ ।

मंगलबार दिनैभर शीतल निवासमा नेताको ओहोरदोहोर चलिरह्यो । दिउँसो नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेकोमा रातको झण्डै साढे १० बजे आसपासमा प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास प्रवेश गर्नुभयो । त्यसको १२ घण्टापछि बुधबार बिहान प्रधानमन्त्रीको पुनः शीतल निवासमा प्रवेश भयो ।

त्यसो त प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नु स्वभाविक र सामान्य मानिन्छ । तर पछिल्लो पटक राष्ट्रपति र प्रधानमन्त्रीबीच भएका यी भेट पार्टी केन्द्रित थिए । अर्थात जबजब नेकपाभित्र शक्ति संघर्ष बढ्छ र विवाद चुलिँदै जान्छ शीतल निवास धेरै सक्रिय हुन्छ । जसको निरन्तरता हो पछिल्ला दिनको भेट । तर यो नयाँ र नौलो हैन । बैशाखयता नेकपा विवादकै कारण नेताहरुले धेरै पटक शीतल निवासको चक्कर काटेका छन् ।

अध्यादेश प्रकरणमा राष्ट्रपति
बैशाखमा प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा सबैभन्दा ठूलो हलचल नेकपामै भएको थियो । त्यतिबेला पनि शीर्ष नेता राष्ट्रपतिकहाँ पुगेका थिए । वैशाख ११ गते, १४ गते र २० गते लगातार प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट भयो । जुन भेट राष्ट्रिय मुद्दा केन्द्रित नभइ नेकपाभित्रको आन्तरिक राजनीति नै थियो ।

असारमा शीतल निवासमा नेताहरुको लर्को
असारमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीभित्रैबाट दबाब बढ्दा राष्ट्रपति भण्डारी निकै सक्रिय देखिनुभयो । अविश्वासको प्रस्ताव आउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले चाल्न सक्ने कदमलाई दिएर नेताहरु निकै सशंकित बने ।

वैशाख ११ गतेः ओलीसँग
वैशाख १४ गतेः ओलीसँग
वैशाख २० गतेः ओलीसँग
असार १६ गतेः ओलीसँग
असार १८ गतेः प्रचण्डसँग
असार २० गतेः प्रचण्ड, खनाल र नेपालसँग
कार्तिक १८ गतेः बामदेव गौतमसँग
कार्तिक २० गतेः रामबहादुर थापासँग
मंसिर २ गतेः प्रचण्ड र ओलीसँग
मंसिर ३ गतेः ओलीसँग

असार १६ गते स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री शीतल निवास पुग्नुभयो । लगत्तै असार १८ गते प्रचण्डलाई बोलाएर राष्ट्रपतिले मिलेर जान सुझाव दिनुभयो । र त्यसको दुईदिन पछि फेरि प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई भेटेर ओलीसँग मिल्न दबाब दिनुभयो ।

राष्ट्रपतिको पछिल्लो सक्रियता
पछिल्लो समय नेकपा विवाद पुनः ब्यूँतिएको छ । यतिसम्मकी शीर्ष नेताहरु लिखित रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । र यो विवादकै बीच राष्ट्रपतिको सक्रियता पनि बढ्दो छ । कात्तिक १८ गते उपाध्यक्ष वामदेव गौतमलाई भेटेकी राष्ट्रपतिले लगत्तै २० गते अर्का सचिवालय सदस्य रामबहादुर थापासँग पनि छलफल गर्नुभयो ।

यसबीचमा उहाँले महासचिव विष्णु पौडेलसँग पनि पार्टीको विवादबारे छलफल गर्नुभयो । यसरी नेकपाभित्रको विवाद जतिपटक सतहमा आउँछ राष्ट्रपतिको भूमिका राष्ट्रप्रमुखका रुपमा नरही दलको नेताको जस्तै देखिने गरेको छ । आलंकारिक भूमिकामा रहेकी राष्ट्रपतिले संविधानतः देश र जनताको हितका गतिविधिमा मात्र आफ्नो चासो राख्नुपर्नेमा कुनै दल र त्यसमा पनि कुनै गुट विशेषका लागि देखाएको सक्रियता सुहाउँदो देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्