राजनीति

नेकपा सचिवालय बैठक अनिश्चित, दुवै पक्ष भिडन्तको मुडमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २ गते २०:१५
नेकपा सचिवालय बैठक अनिश्चित, दुवै पक्ष भिडन्तको मुडमा (भिडियोसहित)

२ मंसिर, २०७७ काठमाडौं । निकासका लागि भनेर बोलाइएको नेकपाको सचिवालय बैठक मुठभेडतिर अघि बढेको छ । विवाद बढ्दै जाँदा भोलिको बैठक अनिश्चित भएको छ । ओली पक्ष प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने र बैठक सार्नुपर्ने अडानमा छ भने प्रचण्ड–नेपाल पक्ष बैठक बस्ने र प्रस्तावमाथि छलफल हुनुपर्ने पक्षमा उभिएको छ । यसले दुवै पक्ष एक अर्कालाई देखाईदिने दिशामा अघि बढेका छन ।

बैठक सार्न ओलीको प्रस्ताव
बुधबार बस्ने सचिवालय बैठक केही दिनका लागि सार्ने प्रस्ताव लिएर मंगलबार बिहान नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभयो । तर प्रचण्डले महासचिव पौडेलको प्रस्ताव स्वीकार गर्नुभएन ।

सकेसम्म सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिन अध्यक्ष ओली र आफ्नातर्फबाट आग्रह गरेका महासचिव पौडेलले ‘केही दिन सारौं’ भन्नुभएको थियो । प्रस्ताव फिर्ताको मात्रै होइन, बैठक सार्ने प्रस्ताव पनि प्रचण्डले अस्वीकार गर्नुभयो । बरु बैठकको तयारी गर्न प्रचण्डले महासचिव पौडेललाई निर्देशन दिनुभयो । सारे पनि बुधबार बैठक बसेर छलफल गर्न सकिने प्रचण्डको अडान छ ।

प्रस्ताव फिर्ता हुनुपर्ने ओलीको अडान
ओली पक्षले बैठक प्रस्ताव फिर्ता लिनुपर्छ र बैठक सार्नुपर्छ भन्नुको एउटै कारण हो कात्तिक २८ गते सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव, जसमा प्रचण्डले ओलीलाई संघीयता, गणतन्त्र विरोधी, नक्कली राष्ट्रवादी र भ्रष्टाचारीका संरक्षक भन्दै विभिन्न आरोप लगाउनुभएको छ । र, यही प्रस्ताव लिएर बैठकमा बस्न नसकिने ओली र उहाँ पक्षधर नेताहरुको अडान छ ।

स्वंय ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा ती आरोप झुटा भएको र तिनको जवाफ आफूले नदिने अडान राख्नुभएको छ र, बैठक बस्नका लागि उहाँको एउटै शर्त छ प्रस्ताव फिर्ता होस् । जुन कुरा ओली निकट सचिवालय सदस्य, ईश्व पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताबाट आइसकेको छ । र, मंगलवार बिहान प्रचण्डलाई भेट्दा पनि महासचिव पौडेलले बैठकको वातावरण नबनेको बताउनुभएको छ ।

ओली पक्षीय नेताका अनुसार प्रचण्डले प्रस्तावमा प्रयोग गरेको भाषाले अब सँगै बैठक बस्न सकिने अवस्था छैन, त्यसैले कम्तीमा त्यो प्रस्ताव फिर्ता लिनुपर्छ । ती नेताका अनुसार अहिलेकै अवस्थामा बैठक बस्ने कुरा कल्पना बाहिर छ किनकी प्रचण्डले शत्रुलाई समेत प्रयोग गर्न नसक्ने भाषा प्रयोग गर्नुभएको छ । ओली पक्षले अहिले बैठक सार्ने कुरा गरेर समय लिने र संवादबाट प्रचण्डलाई प्रस्ताव फिर्ता लिन लगाउने योजना बनाएको छ ।

बैठक बस्ने र प्रस्ताव फिर्ता नहुने प्रचण्ड नेपाल पक्षको अडान
ओलीले बैठक सार्न र प्रस्ताव फिर्ता गराउन चाहेपनि प्रचण्ड–नेपाल पक्षले त्यसैलाई सिधै अस्वीकार गरेको छ र , प्रचण्डसहित सचिवालका बहुमत सदस्य यसमा एक ठाउँ छन । प्रचण्डले महासचिव पौडेललाई प्रष्टै भनिसक्नुभएको छ भने यसअघि ओलीले आग्रह गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतमले पनि त्यसलाई सिधै अस्वीकार गर्नुभएको छ ।

त्यति मात्रै होइन, प्रचण्डको प्रस्ताव आफूहरुको पनि भनेर त्यसमा स्वामित्व लिनुभएको छ । वरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रस्ताव फिर्ता होइन, छलफल हुन्छ र बैठक कुनै पनि हालतमा सर्दैन, किनकी सचिवालयले तोकेको बैठक सार्ने अधिकार कसैलाई पनि छैन ।

ओलीलाई एक पदबाट हटाउने तयारी
पहिले असफल भएपनि प्रचण्ड–नेपाल पक्षको यसपटकको तयारी जसरी पनि ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पदबाट हटाउने छ । सचिवालयका बहुमत सदस्य यसपटक ओलीलाई झुकाउने पक्षमा छन किनकी पटकपटक मौका दिँदा पनि ओली नसच्चिएको उनीहरुको निष्कर्ष छ । र, यसपटक पनि मौका दिए ओलीले अब कहिल्यै टेर्ने छैनन, त्यसैले प्रस्ताव फिर्ता र बैठक सार्ने कुरालाई उनीहरुले प्रतिष्ठाको विषय बनाएका छन ।

बैठक नै बसेर ओली विरुद्ध निर्णय गर्ने उनीहरुको तयारी छ । प्रचण्ड नेपाल समूहका एक सचिवाल सदस्यले भने–यसपटक ओलीले झुक्नुपर्छ, आत्मालोचना गरेर मात्रै होईन, पद त्याग गर्नुपर्छ । ’ प्रचण्डले पनि आफ्नो प्रस्तावमा ओलीले त्याग गर्नुपर्ने उल्लेख गर्नुभएको छ, प्रष्टै नभएपनि त्यसको आशय पनि ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक छोड्नुपर्छ भन्ने नै हो ।

गम्भीर परामर्शमा ओली
प्रचण्ड लगायतका नेताले बैठक सार्न र प्रस्ताव फिर्ता लिन अस्वीकार गरेपछि ओलीले मंगलबार नै आफू निकट नेताहरुसँग गम्भीर छलफल गर्नुभएको छ । ओलीले महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरुसँग छलफल गर्नुभएको छ ।

अहिलेकै अवस्थामा बैठक बस्न नसकिने र सहमतिमा बैठक सार्न जोड दिइएको छ । तर प्रचण्डको प्रस्तावमा छलफल गर्ने गरी बैठक बस्न नसकिने छलफलको निष्कर्ष छ ।

यस्तै आप्नाविरुद्ध निर्णय गरेमा के गर्ने भन्ने विषयमा पनि ओलीले नेताहरुसँग परामर्श गर्नुभएको छ । पार्टी नेतासँगै ओलीले यसबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग पटकपटक भेटवार्ता र परामर्श गर्नुभएको छ । आफ्नाविरुद्ध निर्णय भएमा ओलीले आफूले पनि एक्स्ट्रिम कदम चाल्न सक्ने चेतावनी दिनुभएको छ ।

जुन कुरा उहाँले वरिष्ठ नेता नेपाललाई भनिसक्नुभएको छ । यसरी विभाजनको संघारमा पुगेको नेकपाभित्रको पछिल्लो शक्ति संघर्ष एक अर्कालाई देखाई दिने तहमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्