छठमा उपत्यकाका नदी र पोखरीमा भेला हुन रोक

२ मंसिर, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा पोखरीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ ।
कोरोना महामारीका कारण यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनले आग्रह गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जाडोको समयमा संक्रमणको जोखिम झन् बढ्ने भएकाले नदीमा जम्मा भएर भिडभाड गर्न निषेध गरिएको बताउनुभयो ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि भिडभाड हुने खालका गतिविधिमा रोक लगाउने सरकारकै निर्णय भएकाले छठ पर्वमा पनि सोही अनुसार अघि बढ्ने बताउनुभयो ।
सरकारको निर्णयको कार्यान्वयन गराउने क्रममा भिडभाड र भेला हुन नदिने उहाँले बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्वास्थ्य मापदण्ड पालना गरेर सीमित रुपमा पर्व मनाउनुपर्ने बताउनुभयो ।
यसपालि फरक परिस्थिति भएकाले नागरिक आफैं सचेत हुनुपर्ने उहाँको भनाइ छ । काठमाडौं उपत्यकाका नदी तथा पोखरीमा पोहोर परार छठ मनाउनेको भीड लाग्ने गरेको थियो । यसपाली कोरोना महामारी रहेका कारण उपत्यकामा छठको खासै तयारी गरिएको छैन ।
प्रतिक्रिया