विमानस्थल सुरक्षाका लागि छुट्टै युनिट गठन गर्न पर्यटनमन्त्रीको आग्रह (भिडियोसहित)
२ मंसिर, २०७७ काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताउनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिटको आवश्यकता रहेको बताउनु भएको हो ।
अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलाप र त्यस्ता संगठनहरुसँग नजिक भएका व्यक्तिहरुसमेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले नियन्त्रणका लागि छुट्टै विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने बताउनुभयो ।
त्यसका लागि आफुले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्ने सम्बन्धमा छलफल अगाडी बढाएको बताउनुभयो । यस्तै देशभित्र सञ्चालित कतिपय विमानस्थलहरु दक्षिण र उत्तरतर्फको सिमाना नजिक रहेको र त्यस्ता विमानस्थल बढी संवेदनशील हुने भएकाले पनि विमानस्थल सुरक्षाको जिम्मेवारी दिनेगरी छुट्टै सुरक्षा युनिटको अवधारणालाई अगाडि ल्याउनुपर्ने बताउनुभयो ।
नेपालमा विमानस्थलको संख्या बढ्दै गएको र उडान संख्या पनि बढ्दै जाने भएकाले देशभरका विमानस्थलको सुरक्षा संवेदनशिलतालाई हेरेर भएपनि छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भट्टराईले बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ५० सुरक्षाकर्मी क्षमताको विमानस्थल सुरक्षा ब्यारेक निर्माण सम्पन्न भई मंगलबार उदघाटन गरिएको हो ।
प्रतिक्रिया