नेपागञ्जका कोरोना फाइटरको कथा (भिडियोसहित)
२ मंसिर, २०७७ बाँके । कोरोना संक्रमणका कारण बैशाखको दोस्रो साता नेपालगञ्जमा भय र त्रासको वातावरण थियो । एक जना ब्यक्ति संक्रमित हुँदा सिँगो गाउँ टोल नै शिल गरेर नेपाली सेना नै परिचालन गरिन्थ्यो ।
स्वास्थ्यकर्मी, चिकित्सक र सुरक्षाकर्मी पनि संक्रमित बिरामीको नजिक पर्न डराउँथे । संक्रमित बिरामीलाई आइशोलेशन केन्द्र र अस्पतालसम्म पुर्याउन निक्कै गाह्रो थियो । यस्तो स्थितिमा संक्रमितलाई अस्पताल र आइसोलेशनमा पुर्याउन एम्बुलेन्स चालकको ठूलो योगदान रह्यो । तिनै मध्येका एक हुन आशिष राना मगर ।
एम्बुलेन्स चालकको जिम्मेवारी लिएपछि जोखिम छ, डर हुन्छ भनेर हुँदैन अप्ठ्यारोमा परेको मान्छेको सेवा गर्नुपर्छ । त्यही भावनाका साथ उहाँले काम गरिरहनुभएको छ । संक्रमितलाई आइशोलेशनमा लैजाँदा समस्या भोगे पनि संक्रमणमुक्त भएकालाई घर पुर्याउँदाको सुखद् अनुभवसमेत उहाँसँग छ ।
बैशाख १९ गते नेपालगन्जको जोलहनपुरुवामा एक जनालाई कोरोना संक्रमण पुष्टि भयो । संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्सको खोजी भयो । अधिकाश एम्बुलेन्स चालकले संक्रमितलाई बोक्नै मानेनन् । सुरक्षाकर्मीले आइएनएफका एम्बुलेन्स चालक आशिश राना मगरलाई संक्रमित व्यक्तिलाई आइशोलेशन अस्पतालमा लैजान अनुरोध गरे । आषिश तुरुन्तै तयार हुनुभयो ।
स्वास्थ्यकर्मीले पीपीई सेट दिए । लगाउने तरिका सिकाइ दिए । आषिश पहिलो पटक पीपीई सेट लगाएर प्रहरीको भ्यानसँगै संक्रमितको बस्तीमा पुग्नुभयो । प्रहरीले निक्कै मेहनत गरेर संक्रमितलाई एम्बुलेन्समा चढाइ दिए । उहाँले प्रहरीको स्कर्टिङमा संक्रमितलाई खजुरास्थित आइशोलेशन अस्पतालमा लैजानुभयो । त्यसै दिनबाट आषिशको आइएनएफको साइनिङ अस्पतालको आइशोलनमा बस्ने दिन पनि शुरु भयो ।
त्यसपछि त संक्रमित फेला पर्ना साथ आषिशको फोन बज्न थाल्थ्यो । कुनै कारणले ढिलो हुनासाथ सुरक्षाकर्मी गाडी लिएर आषिश बस्ने अस्पतालको आइशोलेशनमै पुग्थे । आषिशले राती १२–१ बजेसम्म संक्रमितलाई अस्पताल र आइशोलेशनमा लैजानुभयो । प्रचन्ड गर्मीमा १२–१४ घन्टा सम्म पीपीई सेट लगाएर बस्दा उहाँको जिउँ पसिनाले नित्थ्रुक्कै भिजेको हुन्थ्यो । शरीरको पसिना बगेर बुट नै भिज्थ्यो ।
सुरक्षा सावधानी अपनाउँदै उहाँले एम्बुलेन्स चलाइरहनुभयो । एक सय पटक भन्दा बढी कोरोना संक्रमितलाई ओसारपसार गरे पनि सुरक्षा सावधानीका कारण उहाँ अहिलेसम्म संक्रमणबाट जोगिनु भएको छ ।
बाँकेको नरैनापुरमा संक्रमित लिन जाँदा गाउँले नै अवरोध गरे । संक्रमित भागे । स्थिति नियन्त्रणमा लिन नेपाली सेना नै परिचालन गर्नु परेको थियो । संक्रमितलाई बाँकेबाट दाङको बेलझुन्डिस्थित आइशोलेशनमा पुर्याउँदा एम्बुलेन्स रोकेका बेला संक्रमित भाग्ने डरदेखि संक्रमितलाई आफ्नो क्षेत्रमा ल्याएको भन्दै कतिपय स्थानमा आक्रमणको डरसमेत आषिशलाई हुन्थ्यो । तर उहाँले हिम्मत हार्नुभएन ।
एम्बुलेन्स चालकको जिम्मेवारी लिएपछि जोखिम छ, डर हुन्छ भनेर हुँदैन अप्ठ्यारोमा परेको मान्छेको सेवा गर्नुपर्छ । त्यही भावनाका साथ उहाँले काम गरिरहनुभएको छ । संक्रमितलाई आइशोलेशनमा लैजाँदा समस्या भोगे पनि संक्रमणमुक्त भएकालाई घर पुर्याउँदाको सुखद् अनुभवसमेत उहाँसँग छ ।
पछिल्ला दिनमा अरु एम्बुलेन्स थपिएपछि आषिशको दौडधुप अलि घटेको छ । नागरिक संक्रमणबाट धेरै डराउन पनि छाडेका छन् । तर ठुलो आवस्यकताका बेला आषिशहरुले गरेको योगदान भने धेरैका लागि अविष्मरणीय छ ।
प्रतिक्रिया