Main News

कञ्चनजंघा बेसक्याम्प जाने पर्यटक घटे (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १ गते १८:५१
कञ्चनजंघा बेसक्याम्प जाने पर्यटक घटे (भिडियोसहित)

१ मंसिर, २०७७ इलाम । कोरोना महामारीबीच ताप्लेजुङमा रहेको नेपालको दोश्रो तथा संसारको तेश्रो अग्लो कञ्चनजंघा हिमालको बेस क्याम्प पुगिरहेका छन् । तर गत वर्षभन्दा यो वर्ष आन्तरिक र वाह्य पर्यटकको संख्यामा भने कमी आएको छ ।

कञ्चनजंघाको दक्षिण आधार शिवर ओक्ताङबाट देखिने हिमालको दृष्य सुन्दर छ तर यो पटक विगतझै यो ठाउँमा पर्यटकको जमघट छैन ।

वाह्य पर्यटकले भरिने यो क्षेत्रमा यो पटक निकै कम संख्यामा पर्यटक पुगेका छन् । आन्तरिक र केही विदेशी पर्यटक यहाँको दृष्यावलोकनमा रमाइरहेका छन् ।

कञ्चजंघा सर्किटमा नर्थ र साउथ गरी दुईवटा वेस क्याम्प छन् । यहाँ दुबै सर्किटमा सुविधा सम्पन्न होटल बनेका छन् । विगतका सिजनमा विदेशीले भरीभराउ हुने पदमार्गक्षेत्रका होटल अहिले सुनसान छन् । धेरै त खुलेका पनि छैनन् । दुई सिजनमा पर्यटकको चाप भएन । तर आगामी सिजनमा संख्या बढ्ने व्यवसायीको आशा छ ।

८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमाल विश्वमै प्रख्यात छ । बेसक्याम्प घुम्नका लागि यम्फुदिन तथा रानीपुलसम्म गाडी पुग्ने भएकाले कञ्चनजंघा पनि नजिक हुँदै गएको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र भित्र ८ हजार मीटर माथिको उचाई भएका ४ र ७ हजार मिटर माथिका १७ वटा हिमाल छन् । फक्ताङलुङ् हिमाल हेर्न निक्कै सुन्दर छ । पदयात्राका लागि अत्यन्त रोचक तथा महत्वपूर्ण कञ्चनजंघा सर्किट घुम्न कञ्चनजंघा संरक्षण क्षेत्र परिषद्ले रुट बनाएको छ ।

२०५४ सालमा कञ्चनजंघा संरक्षण क्षेत्र घोषणा गरिएको थियो । २ हजार ३५ बर्गकिलोमिटर क्षेत्रफल ओगटेको यो क्षेत्र हिउँ चितुवाका लागि पनि महत्वपूर्ण छ । २ सय ६६ वटा ताल रहेको यो क्षेत्रमा रैथाने र घुमन्ते गरी २ सय ५२ प्रजातीका चरा पाइन्छन् । यो वर्ष थोरै संख्यामा आन्तरिक पर्यटक घुमेको यो क्षेत्रमा पदमार्ग, शौचालय लगायतका पूर्वाधार व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *