संयमता नगुमाउन नेकपा नेताहरुलाई खतिवडाको यस्तो सुझाव

Himalaya Television
२०७७ कार्तिक ३० गते १३:३१

संयमता नगुमाउन नेकपा नेताहरुलाई खतिवडाको यस्तो सुझाव

मित्रहरु, संयम नगुमाउनुहोस।

– हाम्रो पार्टी नेकपाका दुई अध्यक्षहरु वीचको पत्रद्वन्द्व आन्तरिक द्वन्द्वहरुको प्रकटीकरण मात्र हो। यो कुनै नयाँ कुरा होइन ,बरु विभिन्न साना -ठूला सम्बाद, औपचारिक – अनौपचारिक बैठकहरु, अध्यक्ष द्वय एवम सचिवालयका सदस्यहरुबीचका मिलापपूर्ण वार्ता र चर्काचर्की आदि सबैमा उठेका विषयहरु हुन्। आज पक्ष र विपक्षमा बाँडिन बाध्य नेकपाका जिज्ञासु कार्यकर्ताहरु सबैलाई यो कुराको धेरथोर जानकारी छ।

-जब आन्तरिक द्वन्द्वहरुलाई समयमै आधिकारिक ब्यक्तित्वहरुले ब्यबस्थापन गर्ने कुरालाई महत्त्व दिँदैनन, एउटा चरण पार गरेपछि त्यो सार्वजनिक भएरै छोड्छ। द्वन्द्वलाई लुकाउन खोज्नु वा पेलेरै अगाडि बढ्न सकिन्छ भन्ने ठान्नु धुवालाई छोपेर राख्नु जस्तै हो। पार्टीमा देखा परेका समस्याहरुलाई समयमै समाधान गर्न खोजेको भए यो धुवा ले आजको कालो बादल बनाउदैनथ्यो, मेघ गर्जन हुँदैनथ्यो ।पार्टीका नेता – कार्यकर्ता र शुभेच्छुकहरुको मन रुदैनथ्यो र सरकार पनि दिक्दारी र ग्लानीको विषय बन्दैनथ्यो।

– केपी वा प्रचण्डले राखेका धारणाहरुको सत्यता जाँच गर्ने हाम्रो आधिकारिक निकाय तत्कालका लागि स्थायी कमिटी हुन सक्छ। उठाइएका विषयवस्तुलाई ब्यक्तिसङ्ग जोडेर होईन त्यसको अन्तरवस्तुभित्र गहिरिएर हेर्ने हो भने समाधान टाढा पनि छैन।गएको भाद्रमा स्थायी कमिटीले एक प्रतिवेदन अनुमोदन गर्यो र त्यसमा उल्लेख गरेका सिफारिसहरु जो सर्बसम्मतिले बैठकबाट अनुमोदन गरिएको थियो, लाई सम्बोधन गर्न मिति सहित तोकेर कार्ययोजना बनाई लागू गर्ने हो भने आहिले देखा परेको जटिलता धेरै हदसम्म न्यूनीकरण भएर जान्छ। महाधिवेशनको मिति तोकेर मात्र हुदैन , ब्यबस्थापन गर्नु पर्ने सबै कुराको ठोस कार्ययोजना हुनुपर्दछ। स्थायी कमिटीले आफ्नो प्रस्ताव केन्द्रीय कमिटीमा ल्याई पास भएपछि मात्र त्यसले सम्पूर्ण आधिकारिकता प्राप्त गर्दछ।

– म पार्टीभित्रका बेथिति,असमानता, अपमान, नीतिहीन राजकीय निर्णयहरु, सरकार र पार्टी सन्चालनका गलत तरिकाहरुको आलोचना र सुझाब लागातार दिदै आइरहेको एक केन्द्रीय सदस्य– आदर्शच्युत बन्दै गैरहेको नेकपाको चश्मदिद गबाह– केही शीर्ष भनिने नेताहरुले हुर्काएको अप – संस्कृत राजनीतिले म कम्युनिस्ट आदोलन विजयोल्लासको उल्लसित सहभागीबाट मलामीमा पो रुपान्तरण हुने हु कि भन्ने डरले आज छटपटाइरहेको छु। यो “म” ले लाखौ ” म” को प्रतिनिधित्व गरेर “हामीहरु” को महासागर बनाएको छ भन्ने लाग्छ मलाई । ठूलो पदमा पुगेका नेताहरुको कमजोरी औल्याउनु अपराध गरेको सम्झने नेता र कार्यकर्ता उत्पादन गने कारखाना बन्दै गएको नेकपामा आज पनि व्यापक सुधार गर्नसक्ने सामर्थ्य छ।केवल नेताहरु सकारात्मक सोचमा हुनुप्र्दछ। यहि परिवेशमा उभिएर निम्न काम हरु गरौ र पार्टीलाई पुनर्जीवन दिऔ।

१. केन्द्रका सबै कमिटी हरुको सार्थक बैठक बसौ ।बैठकको निर्णयलाई हामी सबैको जित भएको सम्झौ । यो भनिरहनु पर्ने कुरा त होइन ,पार्टी निर्णय सबै नेता तथा कार्यकर्को लागि सर्बोपरी हुन्छ, बिधान मै त्यही लेखिएको छ– हाम्रो पार्टी सन्चालन विधि नै यहि हो, जो मान्दैन – त्यो गलत बाटोमा हिनेको हुन्छ।

२. कार्ययोजना र समय तालिका आधारमा काम सम्पन्न गरौ । प्रमुख कुरा हो- नीतिगत सुधारमा, कमिटी प्रणाली सुढृढ बनाउने र पार्टी र सरकारमा सैद्धान्तिक धरातल, न्याय, विवेक, र आन्तरिक सन्तुलनलाई उच्च महत्त्व दिएर काम गर्नु । पद र अबसरहरु पनि द्वन्द्व न्यूनीकरण गर्ने महत्त्वपूर्ण साधनहरु हुन ।तर विचारको मानकलाई तीलान्जली दिएर नियुक्त गरिएका कुनै पनि नियुक्ति वा अबसरहरुले उर्जा प्रवाह गर्दैन , क्षयिकरण मात्र गर्दछ। आज त्यही भैरहेको छ। पाउने खुशी होला तर समग्र पार्टी क्षयीकरणतिर ।

३. हिजो देखि सामजिक संजालहरुमा क प्रचण्डलाई निन्दा गर्नेहरु, चुनौती दिनेहरु र माफी माग्न दबाब दिनेहरुको लाइन लागेको देखेको छु।प्रतिवादको श्वर पनि आउन थालेको छ। यो लाइनमा सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरु पनि उभिएको देखेर छक्क परेको छु।म मन्द बुद्धिको मानिस तपाइहरुको “तीक्ष्ण बुद्धि” का अगाडि नतमस्तक भए। किन यसो गर्नु हुन्छ? आफ्नो कमिटीको सर्बसम्मत निर्णय लागू गर्न नसक्नेहरुको सिँगौरी किन? तपाइहरुलाई पार्टी निर्णय हरुको पालना नगर्ने र गर्न नदिनेलाई औला ठड्याउन नसक्ने हुतिहारा र लम्पसारवादीहरुको बिभुषण प्राप्त गर्न प्रतिस्पर्धा नगरौ। यो पार्टीमा न प्रचण्डलाई लखेटेर सिध्याउन सक्नुहुन्छ न र एक्ल्याउन। न त यहाँहरुलाई कसले सिध्याउन सक्छ। वरिष्ठ नेता माधव नेपालले बिगत लामो समयदेखि पार्टीमा राख्नु भएका असहमती र सुझावहरुलाई समयमा सम्बोधन गरेको भए आजको यो अबस्था आउने नै थिएन ।

उहाँले राख्नु भएका प्रस्तावहरुलाई जति धेरै नजर अन्दाज गर्दै जानू भयो र उहाँ र उहाँको मतलाई राम्रो ठान्नेहरुको खिल्ली उडाउन थाल्नु भो, त्यति नै रोगमा जटिलता बढदै गयो ।आज क माधव कै एजेण्डामा नेकपाको राजनीतिले परिक्रमा गरिरहेको छ, हैन र ?? ओ दुई प्रवृत्तिको वीचको संघर्षको रुपमा आज विकसित भएको छ। के यो पार्टीमा माधव नेपाल र झलनाथहरुलाई समाप्त पार्न सक्नुहुन्छ?? आखिर मिल्नु नै छ भने विचारसम्मत र न्यायसङ्गत सम्झौता नै सर्बोत्तम विकल्प हो। त्यो दिशामा जान नचाहनेको पक्षमा उभिएर बोल्नुले तपाईंहरुको ब्यक्तित्वलाई पनि फिका फिका बनाइरहेको छ।

४. प्रथम, शक्तिशाली र सर्बश्रोत सम्पन्नले त्यो अमुक “कमजोर ” पात्रहरुले म जस्तो “बलियो” लाई सफल हुन दिएन, काम गर्न दिएन , उसका कारणले मैले राम्रो काम गर्न सकिन भन्न मिल्दैन। यदि उनीहरु “बलियो” लाई हल्लाउन , तह लाउन सक्छन भने उनीहरु कमजोर होइनन, समान बलिया हुन ।तसर्थ कम्युनिस्ट आदोलनको हितको खातिर बोल्नुहोस। केपि र प्रचण्डका दुबै लेखोटहरु फिर्ता गराउन बोल्नुहोस।तर लेखोटमा उल्लेख गरिएका प्रवृत्तिह्रुको बस्तुवादी निदान खजौ। लेखोट फिर्ता हुदा मन माझिने त हैन भावनात्मक एकता हुन त बानी नै सुधृनु पर्छ। प्रवृत्ति सुधार गर्न लाग्नुहोस न ।किन लखेट्नु हुन्छ अरुलाई?

के फुट्ने नै होर? मूल्य मन्न्यताको अनुसरण गर्दा सजिलै समाधान हुने समस्यालाई ” अब एकै ठाउमा बस्न नसक्ने” राजनीतिक बिनासको नारकीय यात्रातिर लाने हो र?

५.न केपि ओलीले प्रधानमन्त्री पद छोडदा देश बर्बाद हुन्छ,न अर्को कोहि आएर देश एकाएक झलमल्ल हुन्छ। विकास एक लामो प्रक्रिया हो, जसको प्रस्थान बिन्दुबाटै त्यस्को भविष्यको रुपरेखा कोरिन थाल्छ। आज बाटो पक्रेन र जनताको विश्वास जित्न सकिएन, चिन्ता यहि नै हो।जनताको न्युनतम सन्तुष्टिको लागि दत्तचित्त भएर लागेमा जनताले माया गर्छ्न, विश्वास गर्छन। यसको लागि पार्टी र सरकार नीति निर्माण र कार्यान्वयनम सृजनात्मक र एकाकार भएर लाग्नु पर्दछ। यहि भएन र दिक्दारी बढ्दैछ। यो काम केपि ओलीले नै गरे हुन्थ्यो भनेर प्रधानमन्त्री चयन गरेको; ।सक्नु भएन । समीक्षा गरौ न । न पार्टी मिलाउन सक्नु भो न सरकार राम्रो सङ्ग चलाउन सकेको देखियो।

पार्टी नमिले सरकार राम्रो सङ्ग चल्न सक्दैन भन्ने सन्सारकै धेरै दृष्टान्त दिन सकिन्छ। सकेसम्म उहाले नै चलाउनु उत्तम । सक्नु हुन्न भन्ने सल्लाहले नै देश र कम्युनिस्ट आन्दोलनको भलाइको लागि प्रधानमन्त्री पद त्याग गर्नुभए गौरवको विषय हुनेथियो ।पार्टी भित्र पनि यहि नियम लागू हुन्छ। सकेको र न्सकेको उहाँलाई सोधेर हैन, डरले कापेर हैन समग्र विश्लेषणका आधारमा गरौ। निर्बैयक्तिक बनौ । पार्टी पनि अस्तब्यस्त , सरकार पनि अस्तब्यस्त तर केही मित्रहरु तै पनि जयगान मा नै मस्त । कुनै जनादेश को बहानावाजीमा वा सदाकाल लाभ लिने र सत्तारोहण गरिरहने केही पात्रहरुको अगस्ती- स्वप्नाहरुको रक्षालागि हामी कम्युनिस्ट आन्दोलनलाई नै ब्यक्तिको साथमा सति पठाउने महाभूल नगरौ ।

आदरणीय कमरेडहरु, संयम नगुमाउनु होस।

सबै तनावलाई घृणाले हैन प्रेमले शून्यमा झार्न सकिन्छ।स्वार्थले हैन सिद्धान्तनिष्ट आदर्श र त्यागले मात्र लामो समयसम्म मित्रताको अङ्गालोमा बाध्न सकिन्छ। अरुलाई जित्न सक्नुहोला , राम्रो कुरा हो तर आफू हार्न तयार नहुने विजयले अन्तत तानासाहको जन्म दिन्छ। खतिवडाको फेसबुक स्ट्याटसबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *