Main News

भारतीय तस्करको प्रलोभनमा किसान, नेपालका गाउँ गाउँमा अफिम खेती (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २६ गते २०:२०
भारतीय तस्करको प्रलोभनमा किसान, नेपालका गाउँ गाउँमा अफिम खेती (भिडियोसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले गएराति झन्डै ४ किलो अफिमसहित दुई जनालाई पक्राउ गर्‍यो । २६ र २७ वर्षीय ती दुई युवाले अफिम भारततर्फ लैजान लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हिरोइन र ब्राउन सुगर बनाउन कच्चा पदार्थको रुपमा प्रयोग हुने अफिम पछिल्लो समय यसैगरी ठूलो परिमाणमा भारत तस्करी हुने गरेको छ । र यसले नेपालमै ब्राउन सुगर उत्पादन हुने हो कि भन्ने चिन्ता बढाएको छ ।

लागू औषध नियन्त्रण व्यूरोले गत तीन वर्षमा १ सय १५ किलोभन्दा बढी अफिमसहित त्यसको ओसारपसारमा संलग्नलाई पक्राउ गरेको थियो । तर चालू आर्थिक वर्षको पहिलो ३ महिनामै झण्डै ९५ किलो अफिम बरामद भइसकेको छ । र वर्षको अन्त्यसम्म यो परिमाण निकै धेरै हुने प्रहरीको अनुमान छ ।

अन्तराष्ट्रिय बजारमा अफिम किलोको १ लाखदेखि ३ लाखसम्ममा विक्री हुने गरेको छ । त्यसैले पछिल्लो समय राम्रो आम्दानी हुने भन्दै नेपालमै लुकिछिपि अफिम खेती हुने गरेको छ ।

लागू औषध नियन्त्रण व्यूरोका अनुसार हिरोइन, ब्राउन सुगर लगायतका लागू पदार्थ बनाउन अफिमको प्रयोग हुन्छ । नेपाली माटो र हावापानीमा अफिमको विरुवा राम्रोसँग सप्रिने हुँदा भारतीय गिरोहले नेपाली किसानलाई आर्थिक प्रलोभनमा पारी यसको खेती गर्न लगाउने गरेका छन् ।

र, यसको ओसारपसारमा सबैभन्दा बढी मध्यम उमेर समूहका युवा युवती सामेल हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

धेरै आम्दानी हुने नाममा अफिमको अवैध उत्पादन गरिँदा नेपाली युवासमेत लागू औषध ओसार पसारमा लाग्न थालेका छन् । र यहिक्रम चलिरहे लागूपदार्थ कारोबारमा संलग्न गिरोहले नेपाललाई नै ब्राउन सुगर र हिरोइन उत्पादनको थलो बनाउन सक्ने खतरा छ । तर यसतर्फ सरकारको ध्यान नै पुगेको छैन ।

प्रहरी तथ्याङ्कलाई आधार मान्ने हो भने प्राणघातक लागुऔषध बन्न प्रयोग हुने अफिम पैसा कमाउने बहानामा नेपालका धेरै जिल्लामा उत्पादन हुन थालेको छ । जसले नेपाली युवा यसको दुर्व्यसनमा फस्ने र अपराधमा सहभागी हुने खतरा बढेको छ । त्यसैले अफिम उत्पादन निस्तेज पार्न सरकारले नै ठोस योजना बनाउनुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *