एकाएक चर्चामा आएको मानुङकोटमा आन्तरिक पर्यटकको भीड कायमै (भिडियोसहित)

२६ कात्तिक, २०७७ तनहुँ । तनहुँको मानुङकोट डाँडा अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ । योसँगै आन्तरिक पर्यटकको चहलपहल ह्यात्तै बढेको छ । अहिले दैनिक हजारौंको सख्यामा आन्तरिक पर्यटक मानुङकोट घुम्न पुग्ने गरेका छन् ।
हिजोआज तनहुँको मानुङकोटमा पर्यटकको घुइँचो छ । विदा मनाउन र सूर्य उदाएको दृश्य हेर्न यहाँ पर्यटक आउन थालेका छन । बेलाबेला कुहिरोले दमौली बजारलाई ढपक्क ढाक्छ । जुन दृश्य निकै मनमोहक हुन्छ ।
तनहुँका विभिन्न ठाउँसहित लमजुङ, गोर्खा, कास्की, चितवन, काठमाडौं, मकवानपुर, नवलपरासी, दोलखा, झापालगायतका जिल्लाबाट आन्तरिक पर्यटक दृश्यावलोकन गर्न मानुङकोट आउने गरेका छन् । कतिपय विदेशी पनि यहाँ पुग्छन । सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको मानुङकोटमा सूर्योदय हेर्न दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेको अनुमान छ ।
पर्यटक बढेसँगै मानुङकोटको फेदीमा रहेका होटल भरिभराउ हुन्छन् । कोरोनाका कारण लामो समयदेखि पर्यटक अभावमा निराश होटल व्यवसायी अहिले निकै खुशी छन् ।
आन्तरिक पर्यटकको चाप बढेपछि पूर्वाधार र व्यवस्थापन गर्न व्यास नगरपालिकालाई पनि चटारो छ । पर्यटनको संभावनायुक्त व्यासनगर क्षेत्रस्थित ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य स्थलको संरक्षण एवं विकासका लागि व्यास नगरपालिका लागिरहेको छ ।
मानुङकोटमा एक्कासी पर्यटकको चाप बढे पनि खानेपानी र शौचालयको राम्रो व्यवस्था हुन सकेको छैन । त्यसैले धेरैजसो पर्यटक बजारमा बास बसेर बिहान सबेरै सुर्योदय हेर्न डाँडामा पुग्ने गरेका छन् ।
प्रतिक्रिया