रुपन्देहीमा एक स्वास्थ्यकर्मीसहित थप तीन जना कोरोना संक्रमितको मृत्यु

२५ कात्तिक, २०७७ काठमाडौं । रुपन्देहीमा एक स्वास्थ्यकर्मीसहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । उनी लुम्बिनी साँस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी हुन् । रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको पहिलो हो ।
कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १८ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् ।
यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको पनि भीम अस्पतालमा मृत्यु भएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको आज बिहान मृत्यु भएको हो ।
योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ । यसैगरी कपिलवस्तुका एकजना कोरोना संक्रमितको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
कात्तिक २३ गते अस्पतालको आइसोलेसनमा भर्ना भएका उनको हिजो कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
प्रतिक्रिया