Main News

नेपाल–भारत सम्बन्ध सुधारको प्रयास, भारतीय विदेश सचिव नेपाल आउने

हिमालय टिभी
२०७७ कार्तिक २५ गते ७:२७
नेपाल–भारत सम्बन्ध सुधारको प्रयास, भारतीय विदेश सचिव नेपाल आउने

२५ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो समय नेपालसँग चिसिएको सम्बन्ध सुधारमा लागेको भारतका विदेश सचिव आगामी महिना नेपाल आउने भएका छन् ।

नेपालसँगको सम्बन्ध बिग्रिएसँगै आलोचना खेपिरहेको भारत सरकारले विदेश सचिव हर्ष वर्धन श्रींग्लालाई नेपाल भ्रमणमा पठाउन लागेको हो ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमण गरेर फर्किएको एक सातापछि नै विदेश सचिव श्रींग्ला नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको हो ।

उनी यही नोभेम्बरको अन्त्यमा काठमाडौँ आइपुग्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । विशेषगरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बताइएको छ ।

नेपालसँगको सम्बन्ध सामान्य बनाउन भारतले ठूलो कदम चालेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । भारतीय सेनाध्यक्ष नारावणेले प्रधानमन्त्री केपी ओलीसँग समेत भेट गरेका थिए ।

त्यस क्रममा दुई देशबीच संवादबाट समस्या समाधान गर्ने कुरा भएको बताइएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रलाई समेट्दै नेपाल सरकारले आफ्नो देशको नक्सा जारी गरेसँगै भारतका विभिन्न उच्च ओहदाका अधिकारीहरुले नेपालबारे टिप्पणी गरेका थिए ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतीय विदेश सचिव श्रींग्ला मंसिर ११ मा नेपाल आउने र १२ मा फर्कने छन् । नेपाल भ्रमणको अवसरमा श्रींग्लाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि भेट गर्नेछन् ।

श्रींग्लाको भ्रमणमा संयुक्त प्राविधिकस्तरीय सीमा समितिको बैठकको मिति समेत तय गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *