जनप्रतिनिधि र प्रशासनकै मिलोमतोमा अवैध नदी उत्खनन् (भिडियोसहित)
![जनप्रतिनिधि र प्रशासनकै मिलोमतोमा अवैध नदी उत्खनन् (भिडियोसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/11/nadi-dohan.jpg)
२३ कात्तिक, २०७७ काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाले ढुङ्गा गिट्टी उत्खननका लागि ठेक्का दिन सकेको छैनन् । तर खुटिया खोलाबाट भने अवैध रुपमा ढुंगा गिट्टी उत्खनन भइरहेको छ ।
ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलोमतोमा रातीराती शिव पार्वती सामुदायिक वनको बाटो हुँदै ढुंगा गिट्टी ओसार्ने गरिन्छ। स्थानीय तह र प्रशासनकै मिलोमतोमा अवैध उत्खनन् भइरहेको स्थानीय बासिन्दाको आरोप छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ र ९ को सीमा खुटिया नदीले कैलालीलाई चाहिने आधाभन्दा धेरै ढुंगा गिट्टीको माग धान्दै आएको छ । असारदेखि भदौसम्म स्थानीय प्रशासनले यहाँबाट ढुंगा गिट्टी निकाल्न रोक लगाउने गरेको छ ।
यस बर्ष पनि प्रशासनले ३ महिना खोला बन्द गरेपनि पुन उत्खनन् खुल्ला गरेको छ । तर गोदावरी नगरपालिकाले उत्खननको अनुमति पाएको २ महिनामा पनि ठेक्का सम्झौता गर्न सकेको छैन ।
ठेक्का नलागेको मौका छोपेर ठेकेदार र शिव पार्वती सामुदायिक वनका पदाधिकारीले खुटिया नदीबाट रातीराती ढुगां गिट्टी उत्खनन गरिरहेका छन् ।
वैधानिक रुपमा ठेक्का भइसकेको भए नदीजन्य पदार्थ मुख्य सडक बाटै ओसारिन्थ्यो । तर अहिले लुकिछिपी ढुगां गिट्टी ओसार्न उनीहरुले सामुदायिक वनभित्रको बाटो प्रयोग गरिरहेका हुन् ।
वन संरक्षणका लागि वनमा चौकिदार राखे पनि वनकै पदाधिकारीको मिलोमतोमा वनभित्रैबाट ढुंगागिट्टी ओसारिँदा चौकिदारले समेत नियन्त्रण गर्न सकेको छैनन् । नदीबाट राती संकलन गरेको ढुंगा गिट्टी वनभित्र राख्ने गर्छन् । र वनभित्रको ढुंगा गिट्टी दिउँसो ओसार्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । सामुदायिक वनको बाटो हुँदै हुने गरेको ढुंगागिट्टी तस्करी रोक्न खोज्ने वन रक्षकलाई ज्यान मार्ने धम्कीसमेत आएको छ ।
स्थानीय तहका पदाधिकारी र प्रहरीलाई पनि अवैध रुपमा ढुंगागिट्टी उत्खनन र ओसारपसार भइरहेको जानकारी छ । तर त्यसलाई रोक्न कुनै काम भइरहेको छैन । यसरी अवैध रुपमा भइरहेको उत्खननले गाउँ नै जोखिममा परेको छ ।
गोदावरी नगरपालिकाले टेण्डर खोले पनि विगतमा टेण्डर नै नपरेको तर अहिले फेरि टेण्डर परेर ठेक्का प्रक्रियामा रहेको जनाएको छ । नगरपालिकाले ठेक्का प्रक्रियामा जान ढिलाई गर्दा करोडौँ राजश्व गुमेको छ । तर ठेकेदार र सामुदायिक बनका पदाधिकारी भने मालामाल भइरहेका छन् ।
प्रतिक्रिया