राजनीति

ओलीलाई बालुवाटारमा बहुमत सचिवालय सदस्यहरुले के भने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २२ गते २०:४५
ओलीलाई बालुवाटारमा बहुमत सचिवालय सदस्यहरुले के भने ? (भिडियोसहित)

२२ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद थप जटिल बन्दै गएको छ । अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच जना नेताले बैठक बोलाउन माग गरेपनि प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि अब नेकपा कसरी अघि बढ्छ भन्ने स्पष्ट भइसकेको छैन । बालुवाटारमा आज पाँच नेता र ओलीबीच घोंचपेचसमेत भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न जानुअघि प्रचण्डसहितका पाँच जना नेता धुम्वाराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा जम्मा भए । त्यही नै ओलीलाई बुझाउने पत्र तयार पारियो । र सबैजना बालुवाटार पुगे ।

पाँचजना नै नेताले दबाब दिएपछि ओली बैठक बोलाउन तयार हुने उनीहरुको आंकलन थियो । तर भेटमा त्यस्तो भएन । बरु चर्काचर्की नै पर्‍यो । बैठक बस्नुपर्ने कारणसहितको भूमिका बाँधेर अध्यक्ष प्रचण्डले ओलीलाई दुई पेजको पत्र हस्तान्तरण गर्नुभयो ।

पत्र बुझेपछि ओलीले गुटबन्दी गरेको, आफुमाथि घेराबन्दी गर्न बाहिरबाहिर छलफल चलाएको, सरकारलाई असहयोग गरेको आरोप लगाउँदै प्रचण्डमाथि नै आक्रमण गर्नुभयो । जवाफमा प्रचण्डले स्थायी कमिटीको निर्णय कार्यान्वयन नहुँदै पार्टीमा अनेक समस्या थपिएको तर छलफल गर्न खोज्दा पार्टी नै फुटाउँछु भनेर तपाईले धम्की दिनुहुन्छ । यसरी कहिलेसम्म चल्छ भन्दै प्रश्न गर्नुभयो ।

प्रचण्डलाई साथ दिँदै वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीमा आफु मात्रै ठिक भन्ने स्वेच्छाचारी प्रवृति हावी भएको भन्दै अब बैठक बसेर खुला छलफल गर्नुपर्ने बताउनुभयो ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि बैठकका निर्णयबाट कोही पनि भाग्न नपाइने भन्दै ओलीमाथि दबाब बनाउनुभयो । उपाध्यक्ष बामदेव गौतम अझ बढी आक्रोशित हुनुभएको सहभागीले बताएका छन् ।

गौतमले ओलीमाथि सामूहिक नेतृत्व प्रणाली लत्याएको भन्दै आइन्दा आफुले साथ नदिने घोषणा नै गर्नुभएको थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीमा आलोचना आत्मालोचनाको विधिलाई अस्वीकार गरेर समस्या निम्ताएको भन्दै ओलीमाथि प्रहार गर्नुभएको थियो ।

सबैले बोलिसकेपछि सचिवालय बैठकको मिति तोक्न दबाब दिए पनि ओलीले त्यसलाई अस्वीकार गर्नुभयो । ओलीले बैठक बसौंला तर अहिले नै मिति तोक्न सकिन्न भन्ने जवाफ दिएपछि पाँच जना नेता बालुवाटारबाट हिंडेका थिए ।

उनीहरुले आगामी सोमबारसम्म बैठकका लागि पर्खने र त्यतिन्जेलसम्म ओली तयार नभए नयाँ रणनीति बनाएर अघि बढ्ने बताएका छन् ।
अहिले एकले अर्कोलाई देखाइदिने तहमा नेकपाको विवाद पुगेको छ ।

बैठक राख्दा आफु अल्पमतमा पर्ने र दबाब बढ्ने ओली पक्षको आंकलन छ । उसले कार्यकारी अधिकार प्रयोग गरेर प्रचण्डले बैठक बोलाए त्यही नै पार्टी विभाजनको विन्दु हुने भनेर धम्कीसमेत दिएकाले अरु नेता डराएका छन् ।

प्रधानमन्त्री ओलीकै कारण सरकार र पार्टी बदनाम भएको निष्कर्षमा पुगेको प्रचण्ड–नेपाल समूह पार्टी फुटको दोष आफुमाथि नलागोस भनेर ओलीलाई मनाउन प्रयास गरिरहेजस्तो देखिन्छ । तर एउटा बैठक बसाउन नै नसक्ने अवस्थामा पुगेको नेकपा यही ढंगले कहिलेसम्म अघि बढ्ला भन्ने प्रश्न आम रुपमा उठ्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्