ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुरु
![ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुरु](https://www.himalayatv.com/wp-content/uploads/2020/11/trafic-dumy.jpg)
२२ कात्तिक, २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुरु गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियम सम्बन्धि विभिन्न गीतहरु बजाएर ट्राफिक नियमको बारेमा जानकारी दिइने छ ।
ट्राफिक नियमबारे नागरिकलाई सुसुचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताउनुभयो ।
पहिलो चरणमा काठमाडौं उपत्यकामा ५ स्थान रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियान थालिएको छ ।
अभियानबाट प्रतिदिन तीन हजार र एक महिनामा तीन लाखलाई ट्राफिक नियम सम्बन्धि सचेतना जगाउने लक्ष्य ट्राफिक प्रहरीले लिएको छ । अहिले एक जना ट्राफिक प्रहरीले प्रतिदिन ११ सय सवारी हेर्नुपर्ने बाध्यता छ ।
करिब १२ लाख सवारी रहेको उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि १५ सय ट्राफिक प्रहरी कार्यरत रहेका छन् ।
प्रतिक्रिया