कोरोना संक्रमितको उपचार निःशुल्क गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् लैजाने तयारी
२१ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचार गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको भर्चुअल बैठकमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले निःशुल्क उपचारको व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको बताउनुभएको हो ।
सचिव अर्यालले सर्वोच्च अदालतले कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचार गर्न परमादेश दिएको र सरकारको पुनरावलोकन पनि खारेज भइसकेको भन्दै सोहीअनुकुल निर्णय गर्न प्रस्ताव लैजाने तयारी भएको बताउनुभयो ।
कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको भन्दै त्यसलाई मन्त्रिपरिषदबाटै सच्याएर मात्र कार्यान्वयन गर्न सकिने उहाँको भनाइ थियो ।
यता समितिले भने अन्य क्षेत्रको बजेट कटौति गरेर भएपनि संक्रमितको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समितिले निजी अस्पतालहरुले लिने उपचार शुल्कको पनि अनुगमन गर्न निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले बताउनुभयो ।
यसबाहेक कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रत्याभूत सरकारले गर्नुपर्ने भन्दै यसअघि निर्णय भएका भत्ताहरु उपलब्ध गराउनु पनि निर्देशन दिएको छ ।
बैठकमा समितिका सदस्यहरुले भने कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया