Main News

विद्युतीय शवदाह गृहमा अन्त्येष्टिको चाप बढ्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २० गते २०:११
विद्युतीय शवदाह गृहमा अन्त्येष्टिको चाप बढ्यो (भिडियोसहित)

२० कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण मृतकको संख्या बढ्दै गएको छ । काठमाडौं आसपासका मृतकको काठमाडौंमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिदै आएको छ । आर्यघाटको शवदाहगृहमा अहिले चाप ह्वात्तै बढेको छ ।

पशुपतिमा रहेको यो विद्युत शवदाह गृह । जहाँ पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि गरिन्छ ।

केही समय अघिसम्म यहाँ कालगतिले निधन भएकाको पनि शव जलाइन्थ्यो । तर कोरोनाका कारण मृत्यु हुने बढेसँगै सरकारले यहाँ संक्रमितको मात्र अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको छ ।

अहिले यहाँ दैनिक १७ –१८ हाराहारीमा शवको दाहसंस्कार हुने गरेको छ । कोरोना संक्रमितको शव एम्बुलेन्स वा गाडीमा सुरक्षित तरिकाले यहाँ ल्याइन्छ । नेपाली सेना र शव व्यवस्थापनमा खटिनेले विशेष सावधानीका साथ शवलाई गाडीबाट निकालेर शव गृहमा लैजान्छन् ।

केही समय अघिसम्म कोरोनाका कारण मृत्यु भएका व्यक्तिका आफन्तले शव समेत हेर्न पाएनन् । नेपाली सेनाले आफ्नै पहलमा शव व्यवस्थापन गर्ने गरेको थियो । आफ्नो संस्कार अनुसार अन्त्येष्टि गर्न नपाएपछि मृतकका आफन्तमाथि चोटमाथि चोट थपेको छ ।

काठमाडौं बाहिरका कतिपय ठाउँमा त कोरोना संक्रमतिको अन्त्येष्टि गरेको भन्दै विरोध पनि भयो । तर अहिले काठमाडौंको विद्युतीय शव दाह गृहमा भने टाढैबाट सही, मृतकका आफन्तले शवमा फूलमाला चढाएर अन्तिम विदाई गर्न पाएका छन् ।

वृद्धवृद्धा र दीर्घ रोग भएका व्यक्ति बढी जोखिममा रहेको भनिए पनि कोरोना संक्रमणका कारण बालकदेखि किशोर र युवाको पनि मृत्यु भएको छ । कुनै पनि रोग नदेखिएका युवाको समेत ज्यान गइरहेको छ ।

जसका कारण विद्युतीय शवदाहगृह अहिले चौबीसै घण्टा संचालन गरिएको छ । तैपनि कतिपयले शव जलाउन पालो पर्खनुपर्ने अवस्था छ । पहिले दैनिक ४–५ वटा मात्रै शव जलाइने गरेको शवदाहगृहको अहिलेको अवस्था हेर्दा नेपालमा कोरोना संक्रमणका कारण मानवीय क्षति कसरी बढिरहेको छ भन्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *