Main News

विश्वशनीयतामा प्रश्नः नेपालमा कोरोना नेगेटिभ भएकाको विदेशमा कसरी देखियो पोजिटिभ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १९ गते २०:१५
विश्वशनीयतामा प्रश्नः नेपालमा कोरोना नेगेटिभ भएकाको विदेशमा कसरी देखियो पोजिटिभ ? (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण नेगेटिभ आएका यात्रुलाई विदेशमा धमाधम पोजेटिभ देखिन थालेको छ । यसको मार भने यात्रु बोकेर विदेश उड्ने वायुसेवालाई परेको छ ।

नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार पछिल्ला केही दिनयता हङकङ, दुबई, जापानको नारिता लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा संक्रमण पाइएको छ । यसले नेपालमा हुने परीक्षणको विश्वसनीयतामा समेत प्रश्न उठेको छ ।

काठमाडौंमा पीसीआर गरेर नेगेटिभ रिपोर्ट बोकेर नेपाल वायु सेवा निगमको विमानबाट गत महिना हङकङ पुगेका ५ जना यात्रुमा कोरोना संक्रमण देखियो । हङकङले कोरोना संक्रमित बोकेको भन्दै निगमलाई उडानमा १५ दिन प्रतिबन्ध लगायो । त्यो प्रतिबन्ध फुकुवा भएलगत्तै हङकङ पुगेका निगमका ९ जना यात्रुमा फेरि कोरोना संक्रमण देखियो र दोश्रो पटक प्रतिबन्ध लाग्यो ।

हङकङ पुगेका यात्रुमा मात्र हैन, निगमकै विमानबाट जापानको नारिता र युएईको दुबईमा पुगेका यात्रुमा पनि कोरोना संक्रमण देखिएको छ । नारिता र दुबई दुवैले नेपाल एयरलाइन्सलाई चेतावनी दिइसकेका छन् ।

नेपालका प्रयोगशालाले कोरोना नेगेटिभ भएको रिपोर्ट दिएका यात्रुको विदेशी प्रयोगशालामा पीसीआर गर्दा कोरोना पोजेटिभ देखिने गरेको छ । र यसको प्रत्यक्ष मार भने निगमलाई परेको छ । किनकी कोरोना संक्रमित यात्रु सम्बन्धित मुलुक पुगेमा त्यसको दोषी विमान सेवा कम्पनी ठहरिने गरेको छ ।

नेपालबाट निगमले उडान गर्ने गन्तब्यमा पछिल्लो ७२ घण्टायताको नेगेटिभ पीसीआर रिर्पोट भएमा यात्रा गर्न सकिने प्रावधान छ । तर, त्यसरी रिपोर्ट बोकेर गन्तब्यमा पुगेका यात्रुमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको भन्दै निगमले चिन्ता व्यक्त गरेको छ । उडानमा प्रतिवन्ध हुँदा आर्थिक र प्रतिष्ठानमा समेत आँच आउन लागेको भन्दै निगमले चिन्ता समेत व्यक्त गरेको छ ।

आफ्नो तर्फबाट भने कोरोना भाइरसविरुद्ध सरोकारवाला निकायले तयार पारेका प्रोटोकलको कार्यान्वयनका लागि कुनै कसर बाँकी नराखेको समेत निगमले स्पष्ट पारेको छ ।

निगमले सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालालाई समेत सचेत हुन आग्रह गर्दै यसले मुलुककै स्वास्थ्य परीक्षणमा प्रश्न उठ्ने चेतावनी समेत दिएको छ ।

साथै यात्रुले समेत पीसीआर दिएपछि अनिवार्य आइसोलेसनमा बसेर स्वास्थ्य मापदण्डको पालना गर्न उसले आग्रह गरेको छ । र पीसीआर नेगेटिभ भएको रिपोर्ट बुझाएर उडेका यात्रुमा गन्तब्यमा पुगेपछि पोजेटिभ देखिए त्यसको जिम्मेवारी नलिने स्पष्ट पारेको छ । यसले नेपालका प्रयोगशालाहरुको कोरोना परिक्षण रिपोर्टका विषयमा गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *