Main News

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, ३३०९ जना नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ कार्तिक १९ गते १६:३४
कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, ३३०९ जना नयाँ संक्रमित थपिए

१९ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एकैदिन अहिलेसम्मकै धेरैको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु भएको छ ।

यसअघि कात्तिक पाँच गते एकैदिन २६ जनाको ज्यान गएको थियो । योसँगै मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।

पछिल्लो पटक १३ हजार १ सय ४४ पीसीआर परीक्षण गर्दा ३३ सय ९ संक्रमित थपिएका छन् ।

दशैंका बेला परीक्षण कम हुँदा संक्रमितको संख्या उच्च नदेखिए पनि मृत्यु हुनेको संख्या बढेको छ । यसले संक्रमण झन फैलिरहेको देखिएको छ ।

थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १८ सय ७८ जना छन् । काठमाडौंमा १५ सय ७०, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय १९ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । उपत्यकाबाहिर कास्कीमा १ सय ९८, मोरङमा १ सय ७२, सुनसरीमा १ सय ३०, रुपन्देहीमा १ सय १०, चितवनमा ८८, झापामा ६८, काभ्रेमा ६६ तथा नुवाकोटमा ६२ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा ३८ सय ४४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ । संक्रमित मध्ये ३ सय ७९ जनाको आइसीयु र ७८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *