भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे काठमाडौंमा
१९ कात्तिक, २०७७ काठमाडौं । भारतका सेना प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउनुभएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आउनु भएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा रहेका बेला नरवणेको भ्रमण हुँदैछ ।
दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा सम्वाद नभइरहेका वेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
नरवणेलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । आज सेनाध्यक्ष नरवणेको औपचारिक कार्यक्रम नरहेपनि साँझ पशुपति दर्शनमा जाने तय भएको छ ।
भोलि बिहान टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेर वीरहरुप्रति सम्मान अर्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि जंगि अड्डामा निरीक्षण गर्ने कार्यक्रम रहेको छ। निरीक्षण सकिएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल हुनेछ।
भोलि नै नेपालस्थित भारतीय दूतावासमा रहेर केही भेटघाटको कार्यक्रम हुने छ । भोलि नै दिउँसो ४ बजे राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ।
त्यसलगतै सितल निवासमै राष्ट्रपति भण्डारीसँग शिस्टाचार भेटघाटको कार्यक्रम रहेको छ। शुक्रबार दिउँसो रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सोहीदिन भारततर्फ प्रस्थान गर्ने नरवणेको कार्यतालिका छ।
प्रतिक्रिया