Main News

सरकारले घोषणा गरेको भत्ता नपाएपछि स्वास्थ्य क्षेत्रका कर्मचारी आन्दोलनमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १८ गते २०:२८
सरकारले घोषणा गरेको भत्ता नपाएपछि स्वास्थ्य क्षेत्रका कर्मचारी आन्दोलनमा (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । यतिबेला स्वास्थ्य क्षेत्रका कर्मचारी पनि कोरोनाविरुद्ध अग्रभागमा रहेर खटिइरहेका छन् । संक्रमितको उपचारमा खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारीले समेत सरकारले घोषणा गरेको आधारभूत सुविधा पाएका छैनन् । त्यसैले कतिपय अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी काम छाडेर आन्दोलनमै उत्रिएका छन् ।

वीर अस्पताल परिसरमा यस्ता पोष्टर जहाँत्यहीँ देखिन्छन् । यो पोष्टरमा लेखिएको छ– पदाधिकारी ज्यू, अस्पताललाई खोक्रो पारेर कुर्चीमा टाँसिरहन लाज लाग्दैन ?

यो पोस्टर यहाँका स्वास्थ्य कर्मचारीले टाँसेका हुन् । तलब, विदा र कोभिड संक्रमितको उपचारको भत्ता नै नपाएपछि अहिले आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाइ छ ।

वीर अस्पतालका करारका कर्मचारीले त अन्य सेवा सुविधा मात्रै होइन, तीन महिनादेखि तलबसमेत पाएका छैनन्। यसले उनीहरु आक्रोशित छन् ।

दशैं अघि पनि वीर अस्पतालका कर्मचारीले कोभिड भत्ता नपाएको, तलब नपाएको भन्दै आन्दोलन गरेका थिए । तर त्यसको सुनुवाई कतैबाट भएन । मागको सम्बोधन नभएपछि उनीहरुले आन्दोलनको घोषणा गरेका छन्।

अस्पताल प्रशासन भने आन्तरिक आम्दानी नभएकाले तलब भत्ता दिन कठिनाइ भइरहेको बताउँछ ।

वीर अस्पतालमा मात्रै होइन, भत्ता नपाएको भन्दै अन्य अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी पनि असन्तुष्ट छन् । उपत्यकामा पाटन, सिभिल लगायतका अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी पनि चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।

अहिले स्वास्थ्यकर्मी आफ्नो ज्यानको प्रवाह नगरी संक्रमितको उपचारमा खटिएका छन् । तर उनीहरु नै अहिले राज्यबाट उपेक्षित छन् । घोषणा भएको सेवा सुविधा समेत नदिएपछि आन्दोलनमा उत्रनु परेको उनीहरुको गुनासो छ । महामारीका बेला अग्रपंतिमा खटिएकाहरु नै आन्दोलनमा उत्रिनु पर्ने अवस्था आउनु लज्जाको विषय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *