Main News

भारतीय स्थल सेनाध्यक्ष नरवणे भोलि काठमाडौं आउँदै

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १८:५७
भारतीय स्थल सेनाध्यक्ष नरवणे भोलि काठमाडौं आउँदै

१८ कात्तिक, २०७७ काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे भोलि काठमाडौं आउँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउनुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्नुहुनेछ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा रहेका बेला नरवणेको भ्रमण हुँदैछ ।

दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा सम्वाद नभइरहेका बेला हुन लागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ । नरवणेलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वागत गर्नुहुनेछ ।

पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन तर, भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनेछन् । भ्रमणको महत्वपूर्ण कार्यक्रम बिहीबार राखिएको छ ।

नरवणेले बिहीबार शीतल निवासमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्नुहुनेछ । शितलनिवासको कार्यक्रम अघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ, त्यसपछि उहाँले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नुहुनेछ ।

भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ पुष २८ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *