Main News

सरकारले कोरोना संक्रमितलाई निशुल्क उपचार गर्न निर्देशन त दियो तर खर्च दिएन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १७ गते २०:२३
सरकारले कोरोना संक्रमितलाई निशुल्क उपचार गर्न निर्देशन त दियो तर खर्च दिएन (भिडियोसहित)

१७ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचार शुल्क लिन निर्देशन दिने सरकारले अहिले भने धरौटी माग्ने अस्पतालसँग स्पष्टिकरण सोधिरहेको छ । कोरोना कहरका कारण उपत्यकाका सरकारी अस्पतालको आम्दानी घटेको छ तर दिनुपर्ने सेवा बढेको छ ।

त्यसैले सरकारले शुल्क लिन निर्देशन दिएलगत्तै अस्पतालले धरौटीसमेत माग्न थाले । तर यसबाट सरकारको आलोचना भयो । र सरकारले धरौटी लिने अस्पतालसँग स्पष्टिकरण सोध्दै धरौटी नलिन भनेको छ ।

उहाँ सिन्धुपाल्चोकका नारायणप्रसाद दुलाल हुनुहुन्छ । श्रीमतीलाई कोरोना संक्रमण भएसँगै उहाँले पहिले त्रिवि शिक्षण अस्पतालमा श्रीमतीलाई भर्ना गर्नुभयो । शिक्षण अस्पतालमा तीन दिनमै १९ हजार रुपैयाँ तिर्नुपर्यो । उहाँले त्यसपछि श्रीमतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सार्नु भयो । टेकुमा धरौटी राख्नु परेन, अस्पतालले बिरामी सामान्य भएकाले उपचार शुल्क पनि लिएन ।

पहिला शुल्क नलिने यो अस्पतालले कात्तिक १३ गते धरौटी रकम राख्नुपर्ने र सरकारको निर्णयअनुसार शुल्क तिर्न सक्नेसँग शुल्क लिने निर्णय गरेको थियो । अस्पतालले शुल्क तिर्न नसक्नेसँग गरिब परिचय पत्र र गाउँपालिकाको सिफारिस ल्याउनुपर्ने र त्यो गर्न नसक्नेले धरौटी राख्नुपर्ने भनेपछि निकै आलोचना भयो । र सरकारकै निर्देशनमा सोमबारदेखि भने अस्पतालले धरौटी राख्न नपर्ने निर्णय गरिसकेको छ ।यसअघि सरकारकै निर्देशनमा शुल्क र धरौटी मागिएको अस्पतालले जनाएको छ ।

सरकारी अस्पतालले यसअघि कोरोना संक्रमितको निःशुल्क उपचार गरिरहेका थिए । बिचमा सरकारले नै शुल्क लिने निर्णय गर्‍यो । र अस्पतालले शुल्क र धरौटी लिन थाले । कोरोना संक्रमितको उपचार निःशुल्क हुनुपर्ने माग भैरहेको छ। सर्वोच्च अदालतले पनि कोरोनासँग सम्बन्धित परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिइसकेको छ । सरकारले निःशुल्क उपचार गर्न निर्देशन दिएर खर्च व्यहोरे संक्रमितसँग एक सुका पनि नलिई उपचार गर्न अस्पताल तयार छन् ।

कोरोना संक्रमणका कारण अस्पतालको आम्दानी घटेको छ र खर्च बढेको छ । देशकै जेठो र सस्तोमा उपचार गर्ने वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरी अस्पतालको सेवा नियमित गर्न कि सरकारले पैसा तिर्नुपर्ने कि त बिरामीसँग उठाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

सरकारले उपत्यकाका सबै अस्पताललाई कोभिड अस्पताल घोषणा गरेको छ । त्यसैले पनि कोभिड बाहेक अन्य बिरामी उपत्यकाका अस्पतालमा उपचारका लागि पुगेका छैनन् । जस्ले गर्दा अस्पतालको आन्तरिक आम्दानी ठप्प छ । आन्तरिक आम्दानी ठप्प हुँदा अस्पताल सञ्चालनमै कठिनाइ भैरहेको छ । यस्तो अवस्थामा सरकारको साथ नपाउँदा सरकारी अस्पताल नै निरिह बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *