प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने
१७ कात्तिक, २०७७ काठमाडौं । प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई आगामी २७ गते हुने भएको छ ।
आज बसेको सुनुवाई समितिको बैठकले प्रस्तावित तीन जना राजदूतको आगामी २७ गते सुनुवाई गर्ने निर्णय गरेको हो ।
गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
लगत्तै संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिमा खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए ।
अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाई समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको थियो ।
राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाई समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।
नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्का (जर्मनी)लाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्दै आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।
प्रतिक्रिया