Main News

दशैंले गाउँगाउँ पुग्यो कोरोना, २५ स्थानीय तह जोखिममा २२ उच्च जोखिममा

हिमालय टिभी
२०७७ कार्तिक १६ गते ७:३८
दशैंले गाउँगाउँ पुग्यो कोरोना, २५ स्थानीय तह जोखिममा २२ उच्च जोखिममा

१६ कात्तिक, २०७७ काठमाडौं । दशैंमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् ।

कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीले गरेको एक अध्ययनमा २२ स्थानीय तह कोभिडको अत्यन्तै उच्च जोखिममा र २५ स्थानीय तह उच्च जोखिममा परेको जनाइएको छ ।

सीसीएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो ।

ट्र्याकिङबाट ४७ स्थानीय तह कोरोनाको जोखिममा परेको पाइएको हो । सीसीएमसीले कोरोनाको जोखिम क्षेत्रको मूल्यांकन गरी जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर, ती क्षेत्रमा हाल कति संक्रमित देखिएका छन् भन्ने तथ्यांकको सूची भने बुझाएको छैन । स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीका अनुसार मानिसहरूको आवतजावत गर्ने हिसाबले ती क्षेत्र बढी संक्रमित हुने देखिएको हो ।

अत्यन्तै उच्च जोखिममा सुनसरी, उदयपुर, धनुषा, सिन्धुली, काभ्रे, ओखलढुंगा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, बारा, पर्सा कास्कीका स्थानीय तह छन् ।

त्यस्तै झापा, मोरङ, उदयपुर, सिरहा, सिन्धुली, ओखलढुंगा, खोटाङ, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय तह उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *