Main News

तपाईंलाई पनि यस्तो भएको होला नि ?

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १३:४५
तपाईंलाई पनि यस्तो भएको होला नि ?

त्यो साँझ साविकको भन्दा अलि चाँडो डेरा पुगेको थिएँ । मेरा एक सहकर्मी स्टेशनरी व्यवसाय पनि गर्छन । त्यसको साथसाथ डिजिटल कारोबार पनि गर्छन् । उनै साथीले हुन मलाई इसेवा एप मेरो मोबाइलमा इन्स्टल गरेर आफ्नो कारोबारको सानो अंक घटाएको । उनै साथीले कहिलेकाहीं अड्को पड्को तेलको धूप पनि गर्छन् ।

त्यो साँझ साथीले मोबाइलमा फोन गरेर भने म एउटा नम्बर पठाउँछु । एक सय रुपैंयाँ पठाइदिनुहोला । म्यासेञ्जरमा हातले लेखेको मोबाइल नम्बरको फोटो खिचेर पठाएँ । फोन गर्न तत्काल जरुरी परेर नै त ग्राहकले पैसा खोजेको होला भन्ने भयो । वाइफाइ अन गरे पछि अनेकौ नोटिफिकेसन बज्ने भइहाल्यो । केही सन्देश पनि आइरहेका थिए । त्यसको जवाफ पनि दिँदै साथीको व्यवसायमा पनि सघाउँदै थिएँ । सबै काम सकियो ।

इसेवामा ब्यालेन्स हेरें, दुई हजार भन्दा धेरै घटेको छ ।

सय रुपैंया टपअप गर्दा दुई हजारभन्दा बढी घट्दा झसङ भएँ । स्टेटमेन्ट चेक गरेँ । एक सयको ठाउँमा दुई हजारभन्दा बढी नै पठाएको रहेछु ।

हतार हतार साथीलाई फोन गरेँ, लौ बरर्बाद भयो, दुई हजारभन्दा बढी पो पठाएछुु मैले अब के गर्ने ?

साथीले मरिगए पत्याएनन, फोन राखेर म्यासेञ्जरमा स्टेटमेन्ट पठाएँ, अनि पत्याए ।

त्यत्तिखेरसम्म चिनेजानेकै नियमित ग्राहकलाई त पठाएका होलान्, फिर्ता गराउनुहोस भनेँ । पैसा पठाएको मोबाइलमा ब्यालेन्स मगाउन भनें ।

तर ती ग्राहक त रौतहटकी रहिछन, फोन गर्न पनि अर्कोको नम्बर डायल गरिदिनुपर्ने ।

ती महिलाले उनको श्रीमानलाई तत्काल फोन गरिछन, अनि श्रीमान दौडेर साथी कहाँ पुगेछन् । पैसा बढी गएको खर्च नगर्न भन्न ।

भोलिपल्ट अफिस पुगेर एनसेल नम्बर चलाउने साथीहरुलाई ब्यालेन्स हाल्ने कुरा भयो । कसैलाई पनि तत्काल चाहिने स्थिति भएन ।

१०० को ठाउँमा एउटा शून्य भएर बढी १००० जान सक्छ । तर दुई हजारभन्दा बढी कसरी जान्छ ?

यसको कारण छ । म्यासेञ्जरमा आएको नम्बर हेर्दै टपअपको लागि टाइप गरेँ, फेरि हेरेँ । निश्चित दुई पटक हेरेर गरेपछि अरु कुरामा केही तनाब भएन । अनि व्यालेन्सको ठाउँमा पनि एमपिन -mobile personal identification number) टाइप गरेँ, पठाएँ । मान्छे भए पो यत्तिधेरै रकम पठाउने हो भनेर सोध्थ्यो, प्रविधिले त जे भन्यो त्यही गर्छ नि ।

साथी कताकता व्यस्त भए, पठाएको पैसा फिर्ता आउने छनक नदेखिएपछि आफैंले पैसा पठाएको नम्बरमा फोन गरेँ । हो, अस्ति भोलिपल्ट बिहानै फोन गर्र्छु भनेर गर्नु भएन मैले त धेरै पैसा खर्च गरिसकेँ । ल बुहारीसँग कुरा गर्नुहोस भनेर फोन दिइन् । अनि मैले एउटा नम्बर दिएर सबै पैसा फिर्ता गर्न भनेँ । एक हजार चार रुपैंया फिर्ता आयो । एक सय रुपैंया साथीले लिएकै थिए ।

पैसा पठाउन लगाउने सैलुङ चलाउने रहेछन । उनले श्रीमतीको मोबाइलमा पैसा पठाउन भनेका छन् । अब बाँकी रहेको पाँचसय भन्दा बढी रकम तिर्न उनी तयार छन् ।

मैले व्यक्तिगत प्रयोजनका लागि इसेवा चलाउन थालेको दुई वर्ष भयो । यो नै मेरो पहिलो गल्ती हो । यसले ठूलो पाठ सिकाएको छ । तपाईंलाई लाग्दो हो, इसेवामा किन ब्यालेन्स राख्नु ? तर कहिलेकार्ही आकस्मिक रुपमा कतै हिंडिहाल्नु प¥यो भने प्लेनको टिकट काट्नेसम्मको ब्यालेन्स होस् जस्तो लाग्छ । त्यही दिन मैले एमपिन नम्बर परिवर्तन गरेको छु । अब टपअप गर्ने बेलामा एमपिन नै टाइप गरें भने पनि पहिले भन्दा आधा रकम मात्रै जान्छ ।

∞∞
यो पटक घर जाँदा नेटको प्रयोग नै नगर्ने भन्ने सोचिरहेको थिएँ । तर एउटा रिपोर्टको पर्खाइमा थिएँ । त्यसका लागि पनि डाटा प्रयोग गर्नैपर्ने भयो । मोबाइलमा एनटीसीबाट डाटा चलाउने गरी सेटिङ गरेको थिएँ । दुई सय ५० एमबी डाटा लिएँ । रिपोर्ट हेर्नका लागि एप खोलें, रिपोर्ट हालेको रहेनछ । डाटा किन खेर फाल्नु भनेर फेसबुक, ट्वीटर चलाउन थालेँ । दुई सय ५० एमबी कति बाँकी होला र भनेर चेक गरेको जत्तिको तत्तिनै रहेछ । सोचें टेलिकमले दशैं अफर दिएछ । केहीबेरपछि एनसेलबाट म्यासेज आयो, योर ब्यालेन्स इज निल ।

अनि झसङ भएर डाटा सेटिङ चेक गरेको एनसेल सेलेक्ट गरेको रहेछु । एनसेलले दिने २५ एमबी डाटाको लोभले एक महिनाभरी फोन गर्न पुग्ने पैसा केहीबेरमै चेट भयो ।

यस्तो अनुभव पक्कै पनि तपाईंको पनि होला ? कहिलेकाहीं डाटा प्याक लिएर मस्त भ्वाइस कल गरेर ब्यालेन्स निल गरेको । कहिलेकाहीं भ्याइस प्याक लिएर डाटा चलाएको ?कलम हातमा लिएर कलमै खोजेको । चाबी हातमा लिएर चाबी नै खोजेको । चस्मा लगाएर चस्मा नै खोजेको । कहिलेकाहीं पाइन्टको जिप्पर नै नलगाइ कार्यालय पुगेको आदित्यादि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *