Main News

देशभर कोरोना संक्रमितका लागि खुट्याइएका आधा बेड खाली, बिरामी बेड नपाएर छटपटाउन बाध्य

हिमालय टिभी
२०७७ कार्तिक १४ गते ७:४९
देशभर कोरोना संक्रमितका लागि खुट्याइएका आधा बेड खाली, बिरामी बेड नपाएर छटपटाउन बाध्य

१४ कात्तिक, २०७७ काठमाडौं । देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली रहेको पाइएको छ ।

तैपनि अस्पतालहरूले संक्रमितलाई ‘बेड खाली छैन’ भन्दै फिर्ता पठाइरहेका छन् । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य मन्त्रालय भने मूकदर्शक छ ।

अस्पतालहरूले कोभिड संक्रमितका लागि छुट्याएका बेडको दैनिक अपडेट स्वास्थ्य मन्त्रालयलाई बुझाउँछन् । जसमा प्रायः आधा जति बेड खाली देखिन्छन् ।

अस्पतालहरूले मन्त्रालयलाई बुझाएको दैनिक रिपोर्ट हेर्दा बिरामीभन्दा केही संख्यामा बेड खाली देखिन्छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रभावकारी सफ्टवेयरको व्यवस्था नहुँदा अस्पतालहरूले बेडसंख्या लुकाउने गरेका हुन सक्ने बताउनुभयो ।

मन्त्रालयले अस्पतालहरूको अनुगमन गर्न नसक्दा यस्तो समस्या आएको हुन सक्ने उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालयबाट प्राप्त हिजोसम्मको तथ्यांकअनुसार काठमाडौंमा कोभिड उपचार हुनेमध्ये दुईवटामा मात्रै क्षमताअनुसार चाप छ ।

टेकु अस्पतालका ५८ बेडमध्ये ५१ मा बिरामी छन् । त्यस्तै, स्टार अस्पतालका २१ बेडमध्ये सबै बेडमा बिरामी छन् । बाँकी सबै अस्पतालमा प्रशस्त मात्रामा बेड खाली रहेको पाइएको छ ।

शिक्षण अस्पतालमा १३२ बेडमध्ये १०२ मा, वीर अस्पतालमा ४६० मध्ये जम्मा १०१ मा र सशस्त्र प्रहरी अस्पतालमा २०० मध्ये १११ मा संक्रमितको उपचार भइरहेको छ ।

आर्मी अस्पतालमा कोभिड उपचारका लागि १०० बेड छन्, तर जम्मा ४६ बिरामी भर्ना भएका छन् । नेपाल प्रहरी अस्पतालमा कोभिड उपचारका लागि ४१४ बेड रहेकोमा जम्मा १५५ संक्रमितको उपचार भइरहेको छ ।

धुलिखेल अस्पतालमा १०० मध्ये ४९ बेड खाली छन् । ग्रान्डी अस्पतालमा ५० मध्ये २४, ह्याम्स अस्पतालका ७० मध्ये ५५ र मेघा अस्पतालमा १०० मध्ये २० बेडमा मात्रै संक्रमितको उपचार भइरहेको छ ।

यसरी कोभिड उपचार हुनेमध्ये राजधानीका १२ अस्पतालमा १९ सय ५५ आइसोलेसन बेड छन् । आधाभन्दा धेरै अर्थात् एक हजार ६९ बेड अहिले पनि खाली छन्, तर बिरामीले भर्ना पाउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *