Main News

दशैंपछि काठमाडौं फर्किने न्यून

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १७:४७
दशैंपछि काठमाडौं फर्किने न्यून

१३ कात्तिक, २०७७ काठमाडौं । गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमी देखिएको छ । कोरोना महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमा हुने यात्रुहरुको आवागमनभन्दा यो वर्ष कम देखिएको हो ।

गत वर्ष दशैंअघि उपत्यकाबाट ११–१२ लाखको हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भए पनि यो वर्ष न्यून संख्यामा यात्रु उपत्यका बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार यो वर्ष १ लाखले मात्रै उपत्यका छोडेका छन् ।

लकडाउन र त्यसअघिको अवधिमा अधिकांशले उपत्यका छोडेको र कोभिडका कारण धेरैले यात्रा नगरेकाले यो वर्ष दशैं–तिहारका लागि उपत्यका छोड्नेको संख्या न्यून रहेको उहाँले बताउनुभयो । अहिले दैनिक करिब ५ हजार नागरिक उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भिड नभएको पनि उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले अहिले सवारी साधानमा जोरविजोर कायम गर्ने, भौतिक दूरी कायम गराउने, भिडभाड नियन्त्रण गर्ने र बढी भाडा लिने सवारीलाई कारवाही गरिरहेको छ । दैनिक ८ वटा टोलीलाई यात्रुको भेषमा खटाएर सार्वजनिक सवारीहरुमा तोकिएभन्दा बढी भाडा लिए/नलिएको अनुगमन गरिरहेको उहाँले बताउनुभयो । अहिलेसम्म बढी भाडा लिने २ सय १५ वटा सर्वाजनिक सवारीलाई कारवाही गरिएको पनि उहाँले बताउनुभयो ।

ट्राफिक व्यवस्थापनसँगै सर्वसाधारणलाई कोभिडबाट बचाउने काम पनि ट्राफिक प्रहरीले गरिरहेको छ । उपत्यकामा ६६ ठाउँमा नियमित रुपमा मादक पदार्थ सेवन (मापसे) चेकजाँच भइरहेकोमा अहिले उपत्यका बाहिरिने थप ९ वटा नाकामा समेत चेकजाँचमा कडाई गरिएको प्रमुख ढकालले बताउनुभयो ।

दशैं अवधिमा ३ हजार १ सय १५ सवारी चालकलाई कारवाही गरिएको बताउँदै प्रमुख एसएसपी ढकालले गत वर्षको दशैंको अवधिको तुलनामा यो वर्ष कम दुर्घटना भएको बताउनुभयो ।

गत वर्ष दशैं अवधिमा ४ सय ३४ वटा दुर्घटना भएकोमा यो वर्ष ३ सय २० वटा दुर्घटना भएका छन् । लकडाउन अघि यो वर्ष दुर्घटनामा परेर १ सय ४ जनाले ज्यान गुमाएकामा लकडाउन पछिको अवस्थामा ६४ जनाको निधन भएको छ । सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्यामा पनि ४० प्रतिशतले कमी आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *