बाँकेमा उपचाररत २३ जना कोरोना संक्रमितको अवस्था गम्भीर
१३ कात्तिक, २०७७ बाँके । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर रहेको छ ।
भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ संक्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसीयुमा राखेर उपचार भइरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भईरहेको छ ।
उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताउनुभयो । बाँकेमा १७७ जना संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३० जनाको मृत्यु भइसकेको छ भने दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन् ।
जिल्लामा हाल २९८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया