राजनीति

तयारी नै नभएको नेकपा केन्द्रीय कमिटी बैठक, स्थगित हुनुमा कोरोनालाई दोष (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १२ गते २०:३२
तयारी नै नभएको नेकपा केन्द्रीय कमिटी बैठक, स्थगित हुनुमा कोरोनालाई दोष (भिडियोसहित)

१२ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक एक महिनापछि सरेको छ । कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने गरी बोलाइएको बैठक कोरोनाका कारण भन्दै मंसिर १५ गतेका लागि सारिएको हो । तर कोरोनाको कारण देखाइएपनि बैठकको कुनै तयारी भएको थिएन ।

कात्तिक १५ गतेका लागि तय भएको बैठकमा भाग लिन केन्द्रीय सदस्यहरु आ–आफ्नो जिल्लाबाट काठमाडौं आउँदै थिए । कतिपयले त काठमाडौं जाँदैछु भन्दै फेसबुकबाट बिहानै सुझाव पनि मागेका थिए ।

तर दिउँसो केन्द्रीय कार्यालयका सचिवका तर्फबाट बैठक एक महिनापछि अर्थात मंसिर १५ का लागि सरेको सूचना सार्वजनिक भयो । त्यसै अनुसार केन्द्रीय सदस्यहरुलाई सन्देश प्रवाह गरियो । र, बैठक स्थगित हुनुको कारण कोरोना महामारी हो भनियो । विज्ञप्तिमा भनिएको छ– कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । ’

त्यसो त साढे चार सयको जम्बो केन्द्रीय कमिटी बैठक बस्नु कोरोना संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण थियो । तर जसरी कोरोना संक्रमणको कारण देखाइएको छ, खासमा त्यो बैठक स्थगन हुनुको मुख्य कारण नभएको बुझिएको छ । एक सचिवालय सदस्यका अनुसार बैठक स्थगित गर्नुका दुई वटा कारण छन । पहिलो तयारी नै गरिएको थिएन, दोस्रो पछिल्लो पटक पार्टीभित्र बढ्दो विवाद ।

के के तयारी हुनुपर्थ्यो ?
भदौ अन्तिम साता बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको तयारी स्वरुप कात्तिक १५ मा केन्द्रीय कमिटी बैठक बस्ने, असोज महिनाभित्र पार्टी एकताका बाँकी काम सक्ने, मंसिरभित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भने पनि निर्णयअनुसार काम हुन सकेका छैनन् । स्थायी कमिटी बैठकले सांगठानिक एकता र महाधिवेशनको तयारीसम्बन्धी गर्ने कामको सूची र समय तालिका तयार पारेको थियो । त्यस्तै कार्यकर्ताको लगत तयार पार्ने पनि स्थायी कमिटी निर्णयमा भनिएको थियो । तर यी कुनै पनि काम भइनसकेको बताइएको छ । केन्द्रीय कमिटी बैठक महाधिवेशनको तयारी केन्द्रीत हुने भएपछि यी काम भैसक्नु पर्थ्यो । एक सचिवालय सदस्य भन्छन– यस्तो अवस्थामा कसरी बैठक बस्छ ? खासमा बैठकको तयारी नै भएका थिएन । र, छैन ।

छलफलसमेत भएन
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति तोके पनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बैठकको तयारीका विषयमा एक पटक पनि छलफल भएन । बैठकको तयारीका लागि सचिवालय बैठक बस्नु पर्दथ्यो, त्यो पनि हुन सकेन । यसले प्रष्ट हुन्छ, केन्द्रीय कमिटी बैठक प्राथमिकतामै थिएन ।

विवादको डर
भदौ २६ गते स्थायी कमिटीले विवाद समाधान गरेपनि सत्तारुढ नेकपाभित्र अहिले भदौ २६ कै अवस्था सिर्जना भएको छ । केपी शर्मा ओली एकातिर र पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल अर्कोतिर हुनुहुन्छ । स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन भएका छैनन् । सल्लाहमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि ओलीले एकलौटी गरेको आरोप लागेको छ ।

जुन कुरा सार्वजनिक रुपमै आरोप प्रत्यारोपको विषय भएको छ । यही बीचमा प्रचण्डका विश्वासपात्र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली पक्षले अविश्वास प्रस्ताव ल्याएर अर्को विवाद खडा भएको छ। भलै त्यसलाई प्रचण्ड नेपाल पक्षले असफल पारेको छ । तर यसलाई एउटा समूहले जित र अर्कोले हारको रुपमा ईगोको विषय बनाएको छ ।

केन्द्रीय कमिटी बैठक अहिले नबस्नुको अर्को विवादको जड हो भारतीय जासुसी संस्था रअका प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्रीसँगको विवादास्पद भेट । अहिले बैठक बस्दा यी सबै विषयमा विवाद हुने र त्यसले खराब रुप लिने आंकलनसहित बैठक रोकिएको बताइएको छ । दुई महिना सार्ने कि एक महिना भन्ने बहसका बीच बैठक एक महिना सारिएको बुझिएको छ ।

नेकपाको विधानमा ६–६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था छ । र पछिल्लो पटक माघ १५ देखि १९ गतेसम्म बसेको थियो । तर अहिले नेकपाभित्रका अवस्था हेर्ने हो भने फेरि पनि बैठक सहजै बस्छ भन्ने स्थिति देखिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्