Main News

भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई कात्तिक १९ गते नेपाल आउने

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १९:०१
भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई कात्तिक १९ गते नेपाल आउने

११ कात्तिक, २०७७ काठमाडौं । भारतले सीमा समस्याबारे वार्ता गर्न आनाकानी गरिरहेका बेला भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण तय भएको छ ।

नरवणे कात्तिक १९ गते नेपाल आउने जानकारी दिँदै नेपाली सेनाले भ्रमण तालिका सार्वजनिक गरेको छ । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्केको हप्ता दिनभित्रै भारतीय सेना प्रमुखको भ्रमण मिति तय भएको छ ।

भारतीय सेनाध्यक्ष नरवणेले कात्तिक १९ गतेदेखि तीनदिनसम्म नेपालको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । भारतीय सेनाध्यक्ष नरवणेलाई कात्तिक २० गते राष्टपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । त्यस्तै अमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया गर्ने पनि सैनिक प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने नेपाली सेनाले जनाएको छ ।

पछिल्लो मन्त्रिपरिषद पुनर्गठनमा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफूसँग राख्नुभएको छ । र, रअ प्रमुख गोयलसँग जस्तै नरवणेसँग पनि बिग्रेको सम्बन्धका विषयमा कुराकानी गर्न चाहेको टिप्पणी भैरहेको छ ।

आप्नो गलत र विवादास्पद अभिव्यक्तिका कारण नरवणेको नेपालमा आलोचना भैरहेको छ । नेपालले आप्नो नक्सा जारी गर्दा चीनको उक्साहटमा गरेको भनेर उनले गलत अभिव्यक्ति दिएका थिए । र, अहिलेसम्म उनले त्यो सच्याएका छैनन् । नरवणेको यो अभिव्यक्तिको भारतमै पनि आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *