Main News

यस्ता छन् इन्टरनेट स्लो हुनुका कारणहरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १६:३५
यस्ता छन् इन्टरनेट स्लो हुनुका कारणहरु (भिडियोसहित)

११ कात्तिक, २०७७ काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले कुल जनसंख्याको ७६.६७ प्रतिशत इन्टनेटको पहुँचमा पुगेको देखाएको छ ।

यसमध्ये १९ प्रतिशतले फिक्सड ब्रोडब्याण्ड अर्थात इन्टनेट सेवा प्रदायक कम्पनीमार्फत सेवा लिने प्रयोगकर्ता हुन् । तर झन्डै ४५ लाख यस्ता प्रयोगकर्ताले भने सेवाप्रदायकले इन्टनेटको गति भनेजति नदिएको साझा गुनासो गर्दै आए पनि सेवाप्रदायकले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार २ करोड २९ लाख इन्टरनेट प्रयोगकर्ता छन् । यीमध्ये ४४ लाख ९० हजार जनाले इन्टरनेट सेवाप्रदायक कम्पनीबाट फिक्सड ब्रोडब्याण्ड प्रयोग गरिरहेका छन् ।

इन्टनेट सेवाप्रदायक कम्पनीले ग्राहकले लिने इन्टरनेटको गतीका आधारमा विभिन्न प्याकेज बनाएका हुन्छन् । ग्राहकले आफूलाई आवश्यक स्पीडको गतिका आधारमा सेवाप्रदायकसँग सम्झौता गर्छन् ।

तर यसरी हुने सम्झौता अनुरुप इन्टरनेटको गति नपाइएको र सेवाप्रदायकले ठग्ने गरेको ग्राहकको सधैँको गुनासो रहने गरेको छ । तर सेवाप्रदायक भने आफूहरुले इन्टनेटको गति नघटाउने बरु ग्राहककै कारण समस्या हुने गरेको बताउँछन् ।

नेपालमा इन्टरनेट सेवाप्रदायकमार्फत मासिक १ हजार ५ सय ५० जीबीपीएस लोकल ब्याण्डविथ खपत हुने गरेको थियो । सेवा प्रदायकका अनुसार कुल प्रयोगकर्तामध्ये ८० प्रतिशतले भिडियो सामग्री हेर्न इन्टरनेट खपत गर्छन् ।

विदेशबाट ल्याउने ब्यान्डविथ, सर्भर र मोबाइल एपमा हुने समस्ययले इन्टरनेटको गति घटाउने सेवाप्रदायकको भनाइ छ । यस्तै सेवा क्षमता भन्दा धेरै इन्टनेट प्रयोग र राउटरको गुणस्तरले समेत इन्टरनेटको गतीमा असर गर्ने उनीहरुको दाबी छ । त्यसैले इन्टरनेटको गती बढाउन ग्राहकले विभिन्न उपाय अपनाउनु पर्ने सेवाप्रदायकको सुझाव छ ।

सेवाप्रदायकले भारतबाट ब्याण्डविथ किनेर इन्टनेट सेवा दिने गरेका छन् । अन्तर्राष्ट्रिय ब्याण्डविथ खरिदमा झन्डै ५० करोड रुपैयाँ बाहिरिने गरेको छ । तर इन्टनेटको गतीबारे आउने गुनासो सेवाप्रदायकले सुनुवाई गर्न सकेका छैनन् ।

उसो त नियामक निकाय प्राधिकरणले कुन समयमा कति इन्टरनेट प्रयोग भइरहेको छ भन्ने विवरण ग्राहकले स्वंयले हेर्न सक्ने गरी व्यवस्था मिलाउन पटक पटक निर्देशन दिएको छ । तर सेवाप्रदायकले कार्यान्वयन गरेका छैनन् ।

त्यसैले पनि ग्राहकको गुनासो घटेको छैन् । यदि सेवाप्रदायकले इमान्दारितापूर्वक सम्झौता अनुरुप नै इन्टनेटको गति दिने र बेलाबेला ग्राहकको राउटरबारे ग्राहकलाई अवगत गराउने गरे समस्या कम हुने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *