राजनीति

चौरसिया हत्या प्रकरणः ओली संरक्षणमा मुद्दा नचलाएको आरोप, ओली भने मौन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १० गते २०:१४
चौरसिया हत्या प्रकरणः ओली संरक्षणमा मुद्दा नचलाएको आरोप, ओली भने मौन (भिडियोसहित)

१० कात्तिक, २०७७ पर्सा । नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्यामा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै वीरगञ्जमा आज पनि प्रदर्शन भएको छ । नेकपाका नेता कार्यकर्ताले मुद्दा दर्ता गर्न दबाब दिँदै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रदर्शन गरेका हुन् ।

प्रहरी कार्यालय अगाडी लालबंगलामा भएको कोणसभामा बोल्दै नेकपाका बारा ईञ्चार्ज गोपाल ठाकुरले दोषीलाई संरक्षण नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिनुभयो ।

यसरी न्याय खोई भनेर प्रदर्शन गर्नेहरु सरकार विरोधी होइन, सरकारमै रहेको पार्टीका नेता–कार्यकर्ता हुन् । र, कात्तिक ७ गतेदेखि दिनहुँ यसरी न्याय खोई भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा अघि प्रदर्शन गरिरहेका छन् । उनीहरुको माग छ, विन्दवासिनी गाउँ कमिटीका पार्टी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न व्यक्तिविरुद्ध मुद्दा दर्ता गरे ।

पर्साको विन्दवासिनी गाउँपालिकामा शपथ ग्रहण कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप हुँदा घाइते गाउँ कमिटी सचिव मुकेश चौरसियाको मृत्यु भएपछि, त्यहाँ दिनहुँ जसो प्रदर्शन भैरहेको छ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष दोषीलाई कारवाही गर भन्दै सडकमा उत्रिएको छ । र , यो पक्षको आरोप छ– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको संरक्षण भएका कारण प्रहरीले मुद्दा दर्ता गर्न मानेको छैन ।

घट्नामा ओली पक्षीय नेता कार्यकर्ताको संलग्नता रहेकाले मुद्दा दर्ता नभएको प्रचण्ड–नेपाल पक्षको आरोप छ । शनिबार नेकपाकै स्थायी कमिटी सदस्य, मात्रिका यादवले ओलीकै संरक्षणमा मुद्दा नचलेको बताउनुभएको थियो भने सोमबार नेकपाका बारा ईञ्चार्ज गोपाल ठाकुरले पनि त्यही कुरा दोहोर्याउनुभयो । र, नसच्चिए आन्दोलनबाट ठेगान लगाईदिने चेतावनी पनि दिनुभयो ।

चौरसिया हत्यामा संलग्न दोषीलाई कारवाही गर्न प्रचण्डले पनि विज्ञप्ति निकाल्नुभयो, सुरेन्द्र पाण्डे पर्सा पुगेर काठमाडौं फर्किनुभयो, मात्रिका यादव अहिले पनि यही क्षेत्रमा हुनुहुन्छ । तर यसबारे ओली पक्ष र स्वंय प्रधानमन्त्री ओली चुप हुनुहुन्छ, ओली पक्ष चौरसिया हत्याविरुद्ध भैरहेको प्रदर्शनमा सहभागी छैन । यसले गुटगत समस्यालाई झन बल्झाएको छ, नेकपा बाराका ईञ्चार्ज ठाकुरको भनाईले पनि त्यही संकेत गर्छ ।

प्रहरीले घटनामा संलग्न रहेको व्यक्तिमाथि लिखित उजुरी दिँदा पनि प्रहरीले दर्ता नगरेको प्रदर्शनकारीको गुनासो छ । प्रहरीले हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ पनि गरेको छ । तर नेकपाको एक पक्षले नेकपाकै जिल्ला नेता राजकुमार गुप्ता को योजनामा यो घटना भएको आरोप लगाएको छ । त्यसैले यो विषय थप पेचिलो र नेकपाको केन्द्रमै थप विवाद सिर्जना हुने गरी अघि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्