Main News

प्रधानमन्त्री ओलीको बोली र खुलामञ्चमा दशैंका दिन लाम लागेका भोका पेटहरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १० गते २०:०७
प्रधानमन्त्री ओलीको बोली र खुलामञ्चमा दशैंका दिन लाम लागेका भोका पेटहरु (भिडियोसहित)

१० कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्नुहुन्छ, कोही भोकै पर्दैन कोही भोकै मर्दैन । तर प्रधानमन्त्रीका दाबी र जनताले भोगेको वास्तविकता फरक छ ।

आज दशैंको टीकाको दिन पनि प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी झुटो सावित हुने दृश्य फेरि एकपटक देखियो । हुनेखानेहरुले टीका थापेर मज्जाले दशैं मनाइरहँदा हुँदा मात्र खानेहरु आज पनि खुल्लामञ्चमा अरुले दिएको खाना खान लाम लागे ।

यी बालबालिका ।

यी वृद्धा

अनि यी खुल्लामञ्चमा खाना खाइरहेका मजदुर ।

यो दशैंको टीकाको दिन काठमाडौं खुल्लामञ्चको दृश्य हो। टिकाको दिन मान्यजन र ठूलाबडाको हातबाट टीका र आर्शिवाद थाप्ने दिन । हुने खानेहरु दशैंको उल्लासमा रमाइरहेका बेला देखिएको दृश्य ।

हुन त खुल्लामञ्चमा यस्तो ८ महिनादेखि चलिरहेको छ। तर टीकाको दिनको यो दृश्य देश र आफूलाई समाजवादी दाबी गर्ने सरकारका लागि लज्जाको पोको हो ।

जसरी उनीहरुले ८ महिनादेखि यहाँ खान पाइरहेका थिए । आज उनीहरुका लागि यहाँ खाना मात्र आएन । मनकारीले साथमा जमरा र टीका लिएर आए । अनि खाली पेट खानाले भरिदिने उनीहरुले, खाली मन र निधारलाई रातो टीकाले रंगाइदिए ।

उनीहरुलाई यसरी रंगाइदिने हाम्रो टिम नामको गैरसरकारी संस्था हो । जो महिनौदेखि साथमा काम र दाम नभएकाको आफन्त बनिरहेको छ । जस्ले मजदुरको खल्तीमा दाम र पेटमा माम नहुनुको पीडा बुझेको छ ।

त्यसैले त यो टोली टीका र जमरा मात्रै होइन, यो भिडलाई पुग्ने खाना पनि बोकेर यहाँ आइपुग्यो । जो खानका लागि छट्पटाइरहेका थिए । उनीहरुलाई तृप्त पारिदियो । अनी मुस्काउने बनाइदियो ।

खासमा यो मुस्कान सरकारले दिनु पर्ने थियो । चैतमा लकडाउन गरेयता नै सरकारले उनीहरुको आँसु देख्न सकेको छैन । उसले आज टीकाको दिन उनीहरुलाई देख्ने कुरै भएन । त्यसैले सरकारसँग उनीहरुको गुनासो छ ।

सरकारले पटकपटक तिम्रो अभिभावक अर्थात आफन्त म हुँ भन्ने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भनिरहनु हुन्छ । भोकले कोही मर्दैन । तर जब भोक, पीडा र अभावमा छट्पट्याएका यी मजदुर खुल्लामञ्चमा यसरी खाना खान बस्छन् । तब प्रधानमन्त्रीले उनीहरु र सिंगो देशलाई गिज्याइरहे जस्तो लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *