Main News

किन लाग्यो एक सय वर्ष पुरानो मदिनी मस्जिदमा डोजर ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ८ गते २०:४२
किन लाग्यो एक सय वर्ष पुरानो मदिनी मस्जिदमा डोजर ? (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । झण्डै सय वर्ष पुरानो मस्जितमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा जुजुकाजी महर्जन रहेको प्रहरीले जनाएको छ । महर्जनकै समूहले डोजर लगाएर मस्जिद भत्काएको प्रहरीको दाबी छ ।

सीसीटीभीको दृश्य मस्जिदमा डोजर लगाइँदै गरेको छ । सय वर्षभन्दा पुरानो मानिएको मस्जिद भत्काइएको खबर पाएर मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीसहित मुस्लिम समुदायका अगुवा यहाँ पुगेका थिए । भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काएको उनीहरुको आरोप छ ।

नेपाल मुस्लिम संघले समेत यसको विरोध गरेको छ । मस्जिद भत्काउनुमा भूमाफियाकै संलग्नता रहेको आरोप लगाउनेमा मुस्लिम समुदाय मात्र छैनन् । मस्जिद रहेको काठमाडौं महानगरपालिका २२ का वडा सदस्य गीता परियारले त यसमा वडा अध्यक्ष चिनीकाजी महर्जनको संलग्नता रहेको आरोप लगाउनुभएको छ ।

तर वडाध्यक्ष महर्जन त्यो आरोप स्वीकार्नु हुन्न । उहाँका अनुसार यो जग्गा व्यक्तिको हो र यहाँ पहिले मस्जिद होइन सत्तल थियो र अहिले पनि यो मस्जिद हो भन्ने उहाँ मान्न तयार हुनुहुन्न । धार्मिक आस्था र समस्यालाई एकै ठाउँ जोड्नु गलत हुने उहाँ बताउनुहुन्छ ।

वडाध्यक्ष महर्जनका कुरा मान्ने हो भने यो स्थानीय रत्नकाजी महर्जनको जग्गा हो । तर मुस्लिम समुदाय यो सबै भूमाफियाको चलखेल मान्छन ।

मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् ।

आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बी काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानका रुपमा स्थापित यो मस्जिदमा अहिले ४ प्रहरको नमाज पढन मस्लिम धर्मावलम्बी पुग्ने गरेका छन् । डोजर लगाउर भत्काइएको मस्जिद पुनर्निर्माणको काम शुरु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *