Main News

रअका एजेन्टलाई प्रधानमन्त्रीले भेटेकोमा नागरिक अगुवाको आपत्ति (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ८ गते २०:२६
रअका एजेन्टलाई प्रधानमन्त्रीले भेटेकोमा नागरिक अगुवाको आपत्ति (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेकोमा आपत्ति जनाएको छ ।

विज्ञप्ति निकालेर नागरिक समूहले भेटलाई आपत्तिजनक भनेको छ । नागरिक अगुवाको समूहले गोयलसगँ के कुरा भयो, किन बोलाईयो त्यो देश र जनतालाई जानकारी दिन प्रधानमन्त्रीसँग माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति भारतीय गुप्तचार संस्था रअका प्रमुख गोयलसँग दुई घण्टा बालुवाटारमा भेटवार्ता गर्नुभयो । जुन सबैका लागि अनपेक्षित थियो । किनकी भारतसँग सम्बन्ध बिग्रेका प्रधानमन्त्री ओलीले रअका प्रमुखलाई बोलाएर भेट्नुहुन्छ भन्ने कसैले अनुमान पनि गरेका थिएनन । तर त्यही भेट अहिले निकै विवादमा परेको छ ।

ओलीको विरोध गर्नेहरु मात्रै होइन, समर्थन गर्नेहरुले पनि यसलाई आपत्तिजनक भनेका छन् । २३ जना नागरिक अगुवाको समूहमा पनि ओलीलाई राष्टवादी मान्ने र विश्वास गर्नेहरु पनि छ । र, उनीहरुले ओलीमाथि गम्भीर प्रश्न उठाएका छन ।

प्रम ओली–रअ प्रमुख गोयलबीचको भेटमा नागरिक अगुवाको आपत्ति किन ?

भेट कुटनैतिक मर्यादाविपरीत

नागरिक अगुवाको समूहले यो भेटलाई कुटनैतिक मर्यादाविपरीत भनेका छन्, उनीहरुको पहिलो आपत्ति यहीनै छ, किनकी दुईदुई घण्टा प्रधानमन्त्रीले भारत सरकारको एउटा कर्मचारीसँग आफ्नो सरकारी निवासमा भेट गर्नुभएको छ, त्यो पनि दुनियाँलाई सकेसम्म थाहै नदिने प्रयाससहित । अन्तर्राष्टिय उडान बन्द भएका बेला विशेष विमानमार्फत आएर बालुवाटार छिरेर फर्कनु गम्भीर कुरा हो ।

गोयल किन आए, के कुरा भयो ?
नागरिक अगुवाको अर्को प्रश्न छ, गोयल किन, केका लागि र कसले बोलाएर आएका थिए । अनि के के विषयमा वार्ता भयो ? त्यो देश र जनतालाई थाहा चाहियो, जुन कुरा अहिलेसम्म प्रधानमन्त्री ओली र ओली सरकारले लुकाइरहेको छ । र, यसमा अहिले सिंगो देश र जनताको चासो छ ।

भारतकै कारण अहिले सम्बन्ध बिग्रेको छ, सम्बन्ध सुधार्न नेपालले राजनीतिक र कुटनीतिक प्रयास गरिएको छ भनिएको थियो , तर अहिले एकाएका गोयलसँग भेटेर त्यसलाई उपेक्षा गरिएको छ । त्यसैले नागरिक समूहको प्रश्न छ–कुटनैतिक पदाधिकारीसँग भेट्न किन आवश्यक ठानिएन ?

शिष्टाचारमा आपत्ति, परराष्ट मन्त्रालयको उपेक्षा किन ?

सकेसम्म गोप्य राख्न खोजिएको भेटलाई प्रधानमन्त्रीको निजी सचिवालयले शिष्टाचार भेट भनेको छ, तर नागरिक अगुवाको समूह त्यसलाई मान्न तयार छैन ।

परराष्ट मन्त्रालयलाई औपचारिक रुपमा संलग्न नगराई देशको सर्वोच्च कार्यकारी प्रमुख आफैले मध्यरातसम्म घण्टौं गरेको गोप्य वार्तालाई कुटनैतिक भाषामा कसरी शिष्टाचार भन्न सकिन्छ भन्ने नागरिक अगुवाको प्रश्न छ । र, शिष्टाचार भनेर प्रतिरक्षा गर्न खोजेकोमा गम्भीर आपत्ति छ ।

विज्ञप्तिमा भनिएको छ– सोझै जासुसी विभागका प्रमुखलाई त्यो पनि जुन समय, जसरी, जहाँ जति समय देशको कार्यकारीले भेट गर्नुभयो, त्यसलाई जसरी प्रतिरक्षा गरेपनि कुनै पनि हालतमा जायज मान्न सकिन्न ।’ भनेर नागरिक समूले बालवाटारको प्रतिवाद गरेको छ ।

अवाञ्छित गतिविधिको औचित्य पुष्टि गर्ने प्रयास नगर, नेपालमा रअका गतिविधिले सुखद घट्ना निम्त्याएका छैनन, यस्तो पृष्ठभूमिमा गोयलसँगको भेटबारे नागरिक अगुवाको समूहले यसमा गम्भीर चासो राखेको छ ।

गैरकुटनीतिक भेटलाई कार्यकारी प्रमुखले निरुत्साहित गर्नुपर्ने हो । तर राष्टवादी छवि बनाएका प्रधानमन्त्री ओलीले त्यसलाई पूर्ण रुपमा बेवास्ता गर्नुभएको छ । र, आफूले विश्वास गरेको प्रधानमन्त्रीबाट यस्तो काम भएकोमा नागरिक समूह चिन्तित छ । तर उसको चिन्ता अझ बढी यो भेटको औचित्य सावित गर्न खोजिएकोमा छ । चेतावनीका शैलीमा प्रधानमन्त्रीलाई भनिएको छ–कार्यकारी प्रमुख स्वयंले गरेका यस्ता भेटघाट र अवाञ्छित गतिविधिको औचित्य पुष्टि गर्ने प्रयास हुन्छ भने त्यो राष्टका लागि दुर्भाग्यपूर्ण हुनेछ । ’

देश र जनतालाई जवाफ देउ
अन्तर्राष्टिय उडान बन्द रहेका बेला रअका प्रमुख विशेष विमानबाट नेपाल आए, प्रधानमन्त्रीलाई भेटे र गए, दबाबका कारण शिष्टाचार भेट भनेर सार्वजनिक गरियो । तर उनी किन आएका थिए, कसले बोलाएको थियो र के कुरा भयो । कुटनैतिक मर्यादाविपरीतका काम किन भए भन्ने प्रश्न उनले छोडेर गएका छन, र त्यो सबै आधार प्रधानमन्त्रीले दिनुभएको छ ।

त्यसैले यी सबै विषयको जवाफ नागरिक समूहले प्रधानमन्त्रीसँग मागेको छ । नागरिक समूहका अनुसार जनताले सरकारबाट यी प्रश्नको ईमानदार जवाफ र स्पष्ट जवाफ खोजेका छन । र, अपेक्षा छ लोकतान्त्रिक सरकारले न्यूनतम दायित्व निर्वाह गर्नेछ ।

नागरिक समूहको जस्तै प्रधानमन्त्री ओलीमाथि सिंगो देश र जनताको आशंका र प्रश्न छन् । ती प्रश्नको उचित जवाफ आउनेछ, वा फेरि पनि प्रश्नको प्रधानमन्त्रीबाट उपेक्षा हुनेछ, त्यो भने केही समयमै प्रष्ट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *