७ कात्तिक, २०७७ काठमाडौं । नेपालमा आजदेखि विदेशी च्यानलमा विज्ञापनरहित प्रशारण (क्लिनफिड) लागू हुने भएको छ।
सरकारले कात्तिक ७ गतेसम्म विदेशी च्यानल क्लिन फिड अर्थात बिना विज्ञापन हुनैपर्ने बताएको छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २ हजार ७६ अनुसार विदेशी टेलिभिजन च्यानललाई कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्यूज, नेपाल केवल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको भएपनि तोकिएकै मितिबाट लागू हुने बताएको छ ।
मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिड सहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ । त्यसो नभएमा कानून बमोजिम कारवाही हुने मन्त्रालयले बताएको छ।
आज मध्यरातिदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न पाइँदैन । अटेरी गरे त्यस्ता च्यानल बन्द गर्ने कानूनी व्यवस्था छ ।
प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १ सय ८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द हुने नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिनुभएको छ ।
टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानलले तत्कालै क्लिन फिड कन्टेन्ट दिन नसकिने बताएका छन् ।