राजनीति

भारतीय गुप्तचर र प्रधानमन्त्रीको गोप्य भेटवार्ता, नेकपाकै नेताहरुको आपत्ती (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ६ गते २०:३६
भारतीय गुप्तचर र प्रधानमन्त्रीको गोप्य भेटवार्ता, नेकपाकै नेताहरुको आपत्ती (भिडियोसहित)

६ कात्तिक, २०७७ काठमाडौं । नेपाल भारतबीचको सीमा विवादले वार्ताको रुप पनि लिन सकेको छैन । तर सीमा विवाद कायमै रहेको र भारत सरकारले वार्ताका लागि कुनै चासो नदेखाइरहेको बेला भारतीय जासुसी संस्थाका प्रमुख गुपचु नेपाल आएर प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरुलाई भेटेर फर्किएका छन् ।

सीमा विवाद समाधानका लागि दवाब दिनुपर्ने ठाउँमा गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटले सरकारमाथि थुप्रै प्रश्न उठाएको छ ।

बुधवार मध्यान्ह विशेष विमानमार्फत भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयलसहित ९ सदस्यीय टोली नेपाल आयो । तर उनीहरु गुप्तचरकै अधिकारीको हैसियतमा नेपाल आएको कुनै पनि आधिकारिक प्रमाण अध्यागमनमा छैन ।

किनकी उनीहरु कोही भोटर आइडी कार्ड कोही अरु सरकारी कार्डको प्रयोग गरेर नेपाल प्रवेश गरेका थिए । अर्थात गुप्तचर संस्थाका प्रमुख र अन्य अधिकारीको नेपाल भ्रमण पनि गोप्य थियो । तर विभिन्न संयन्त्रबाट उनीहरु नेपाल आइपुगेको कुरा बाहिरियो ।

तथापि नेपाल आएका उनीहरुका बारे सरकारका तर्फबाट कुनै आधिकारिक धारणा आएन । बरु उनी नेपाल आइपुगेको केही घण्टामै बुधबार राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा गोप्य भेटवार्ता गरे ।

जुन भेटबारे प्रधानमन्त्रीको सचिवालयले गोयल दिल्ली पुगेपछि मात्र त्यसबारे बोल्यो । त्यो पनि चौतर्फी दबाब कारण । र यसले सरकारको परराष्ट्र नीतिमाथि गम्भीर प्रश्न खडा गरेको विज्ञको बुझाइ छ ।

कुटनीतिक मर्यादामा कुनै देशको दूतको रुपमा आएको अवस्था बाहेक कुनै पनि गुप्तचर संस्थाका प्रमुखको गोप्य भेट प्रधानमन्त्रीसँग हुनुलाई निकै संवेदनशील रुपमा लिइन्छ ।

अझ दुई देशबीच विवाद कायमै रहेको अवस्थामा त यस्तो भेटले गलत सन्देश पनि फैलाउँछ । किनकी नेपाल भारतबीचको सीमा विवाद कायमै छ । दुई देशका प्रधानमन्त्री तहको कुरा त परै जाओस् परराष्ट्रसचिव तहमा पनि छलफल हुन सकेको छैन । यस्तोमा देशका कार्यकारी प्रमुखले गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कुटनीतिमाथि प्रहार हो भन्ने विज्ञलाइ लागेको छ।

तर केहीको भने फरक धारणा छ । सीमा विवादबारे नेपाल भारतबीच संवादहीनताको अवस्था छ । यस्तोमा भारत सरकारकै दूतका रुपमा गोयल नेपाल सरकारको धारणा बुझ्न आएको र यसलाई सकारात्मक लिनुपर्ने तर्क छ ।

त्यसो त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल आएको पनि हुन सक्छ । तर उनी जसरी आए र फर्किए त्यसले उनी दूतका रुपमा आएको भन्ने पुष्टि हुँदैन, किनकी परराष्ट्र मन्त्रालयले यसबारे बोलेको छैन ।

यसको अर्थ सकेसम्म यो भ्रमण र भेटलाई गोप्य नै राख्न खोजिएको प्रष्ट हुन्छ । यसले प्रधानमन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ । किनकी मुलुकको कूटनीति कुनै एउटा व्यक्तिको लहड र चाहनाको विषय होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्