Main News

विज्ञ भन्छन्–सरकारको भर नपरौं, आफैँ सजग बनौँ (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ५ गते २०:१०
विज्ञ भन्छन्–सरकारको भर नपरौं, आफैँ सजग बनौँ (भिडियोसहित)

५ कात्तिक, २०७७ काठमाडौं । चाडबाडका बेला हुने भिडभाडले कोरोना संक्रमणको जोखिम झनै बढाएको छ । तर, सरकारले सबै कोरोना संक्रमितको उपचार निःशुल्क गर्न नसक्ने भनिसकेको छ । उता अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड पनि खाली छैन । यस्तो अवस्थामा आफैं सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् ।

दशैं नजिकिएसँगै चहलपहल बढ्दो । अरु बेला घरमै सावधानी अपनाएर बस्नेहरु पनि बजारमा किनमेलका लागि निस्किएका छन् । त्यस्तै एक ठाउँबाट अर्को ठाउँमा जानेको संख्या पनि बढिरहेको छ ।

त्यसैले कोरोना संक्रमण अझै बढ्ने र भयावह अवस्था आउने खतरा छ । त्यो खतराबाट जोगिने उपाय भनेको आफैले अपनाउने सावधानी नै प्रमुख हो । सावधानीले हामी आफू त जोगिन्छौँ नै, देशलाई पनि कोरोनाको भयावह अवस्थामा पुग्नबाट जोगाउन सक्छौँ ।

अहिले संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालका बेड भरिएका छन् । सरकारले छुट्याएका आईसीयू र भेन्टिलेटर पनि खालि छैनन । जसले गर्दा गम्भीर भएर उपचारका लागि अस्पताल पुगेकाले आईसीयू र भेन्टिलेटर पाइरहेका छैनन् । त्यसैले यो अवस्थाको व्यवस्थापन गर्न अक्सिजन थेरापी सेन्टर बनाउन सरकारलाई विज्ञको सुझाव छ ।

लक्षण मात्रै होइन, लक्षणविहीन संक्रमितको संख्या पनि बढिरहेको छ । पीसीआर परीक्षण नै नगरेका तर कोरोनासँग मिल्दो जुल्दो लक्षणले विरामी परेका पनि टोल टोलमा भेटिन थालेका छन् । कोरोना संक्रमण भएकामा २० देखि ४० वर्ष उमेर समूहका युवा बढी छन् । युवाहरुकै माध्यमबाट कोरोना जोखिम समुहमा संक्रमण सर्ने खतरा पनि बढेको छ । त्यसैले यो परिस्थितिमा युवा बढी सजग हुनपर्ने देखिन्छ ।

कोरोना संक्रमण नियन्त्रणमा सरकारको भूमिकाप्रति आम नागरिक सन्तुष्ट छैनन् । र, सन्तुष्ट हुने सरकारको व्यवहार र काम पनि छैन । त्यसैले अब नागरिक अब आफैं जिम्मेवार हुनु पर्ने बेला आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *